रुकुमपश्चिम । पहिरोले घर बगाउँदा रुकुमपश्चिममा दुई जनाको निधन भएको छ ।
बाँफिकोट गाउँपालिका–९, स्यालाको एक घर गए राति पहिरोले बगाउँदा दुई जनाको निधन भएको हो । रातभर परेको अविरल वर्षाका कारण आएको पहिरोले स्थानीय जसवीर कामीको घर बगाउँदा उनका छोरा २२ वर्षीय नवीन विक र छिमेकी हस्तबहादुर सुनारका छोरा १६ वर्षीय बलबहादुर सुनारको निधन भएको प्रहरीले जनाएको छ ।
नवीन र बलबहादुरको शव भेटिएको र चार जनाको उद्धार गरिएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक ठगबहादुर केसीले जानकारी दिनुभयो ।
जसवीरकी श्रीमती ६० वर्षीय झुपी कामी, बुहारी २२ वर्षीया व्युझना कामी, नातिनी पाँच वर्षीया कोपिला र तीन वर्षीया ऋतु कामीको उद्धार गरिएको हो । झुपीको छिन्खेतस्थित स्थानीय मेडिकलमा उपचार भइरहेको छ । आज बिहान करीब ४ बजेतिर घरदेखि १० मिटर माथिबाट आएको पहिरोले उक्त घर बगाएर झण्डै डेढ सय मिटर तल रहेको किमाना खोलामा पुर्याएको छ ।
घरको माथिल्लो तलामा सुतेकालाई प्रहरी र स्थानीयवासीले जीवितै उद्धार गरेका हुन् भने तल्लो तलामा सुतेका नवीन र बलबहादुर घरसँगै बगेका थिए । पहिरो हटाएर उनीहरुको शव निकालेको घटनास्थलमा रहेका प्रहरी चौकी मग्माका इन्चार्ज प्रहरी सहायक निरीक्षक हरि देवकोटाले बताउनुभयो ।– रासस
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।