सुर्खेत । जिल्ला प्रशासन कार्यालय सुर्खेतले मास्क नलगाई हिँड्ने व्यक्तिलाई कारवाही गर्दा करीब रु. एक लाख राजश्व संकलन गरेको छ । कार्यालयले दुई साताका अवधिमा एक हजार ५९ जनालाई कारवाही गर्दा प्रतिव्यक्ति रु. १०० का दरले रु. एक लाख पाँच हजार ९०० राजश्व संकलन गरेको हो ।
कोभिड १९ को सङ्क्रमण फैलिनबाट रोक्न गृह मन्त्रालयले असार २२ गते सबै जिप्रकालाई मास्क नलगाई बाहिर निस्कनेलाई रु. १०० जरिवाना निर्देशन दिएको थियो । सरकारको निर्देशनानुसार प्रहरीले मास्क प्रयोग नगरी घर बाहिर निस्कनेबाट नगदी रसिद बुझाउँदै जरिवाना असूल गरेको हो । सुर्खेतका सहायक प्रजिअ भीमकान्त पौडेलले अटेरी गरी बाहिर निस्कनेलाई सङ्क्रामक रोग ऐन, २०२० बमोजिम कारवाहीस्वरुप जरिवाना तिराइएको बताए ।
यसैबीच जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले समेत लकडाउन उल्लङ्घन गर्ने ५८३ सवारी साधन नियन्त्रणमा लिई सवारीधनीलाई कारवाही गरेको छ । त्यसबाट रु पाँच लाख ८९ हजार ५०० राजश्व संकलन गरिएको कार्यालयले जनाएको छ ।-रासस
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।