काठमाडौं । सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले लकडाउनको यो अवधिमा अनलाइनमार्फत १३ लाख ९० हजार रुपैयाँको खाद्य सामग्री बिक्री गरेको छ ।
कम्पनीले २०७६ चैत २६ गतेदेखि २०७७ असार ३ गतेसम्म ४ सय ३१ अनलाइन डेलिभरीमार्फत सो मूल्य बराबरको खाद्यान्न बिक्री गरेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत नेत्रप्रसाद सुवेदीले बताए । कम्पनीले चैत २६ गतेदेखि वैशाख ३१ गतेसम्म ७ लाख ९५ हजार मूल्य बराबरको खाद्य सामग्री बिक्री गरेको थियो । जेठ महिनामा ५ लाख ७० हजार २ सय ६७ रुपैयाँको खाद्य सामग्री बिक्री गरेको छ ।
‘हामीले लकडाउनको अवधिमा आम उपभोक्तालाई सहज होस् भनेर डेलिभिरी गरेका हौं,’ उनले भने ‘अब रिङरोड बाहिरका उपभोक्तालाई पनि यो सेवा प्रदान गर्ने छौ ।’ कोभिडको यो महामारीमा आम उपभोक्तालाई सहजीकरण गर्न सरकारी कम्पनीको हैसियतले खाद्य सामग्री घरघरमै पुर्याउने व्यवस्था मिलाएका हौं । अहिले गरिएको सबै कारोबार इपेमेन्टबाट गरिएको हो, अब विस्तारै कम्पनीको खरिद बिक्री प्रक्रियालाई डिजिटलाइजेश गर्दैछौं ।’
लकडाउन अघि घुम्ती खाद्यान्न सेवा उपलब्ध गराउँदै आएको खाद्य कम्पनीले लकडाउनयता घरदैलो खाद्यान्न सेवा प्रदान गर्दै आएको हो । कम्पनीले लकडाउन अवधिभर उपभोक्ताले घरमै बसेर अनलाइनबाट खाद्यान्न खरीद गर्ने व्यवस्था मिलाएको छ । कम्पनीले यो अवधिमा २२३.७ क्टिन्टल चामल, दाल, केराउ र सिमी बिक्री गरेको छ भने घ्यू, नुन र आटा पनि बिक्री गरेको छ ।
जापनीज चामल बढी बिक्री
खाद्य कम्पनीले चैत २६ गतेदेखि असार ३ गतेसम्म २०६.१ क्विन्टल चामल बिक्री गरेको छ । सो चामलमध्य जापनीच चामल सबैभन्दा बढी १४१.३० क्विन्टल बिक्री भएको छ भने सोना मन्सुली चामल २५.८० क्विन्टल र रन्जित स्टिम चामल ३९ क्विन्टल बिक्री गरेको छ । कम्पनीले सो अवधिमा १०.७९ क्विन्टल जुम्लाको सिमी, रहरको दाल २.४५ क्विन्टल मुसुरोका दाल ३.२६ क्विन्टल र केराउ १.१० क्विन्टल आम उपभोक्ताको घरघरमै डेलिभरी गरेको छ ।
त्यस्तै कम्पनीले दाल चामलका साथै घ्यू, नुन र आटा पनि बिक्री गर्दै आएको छ । अनलाइन ब्यापार गरेको यो अवधिमा ४० केजी घ्यू, ७ किलो नुन र ३७ केजी आटा बिक्री गरेको छ ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।