काठमाडौं। निर्माण कम्पनीले ढिलाइ गर्दा काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनका लागि बन्चरेडाँडा निर्माणाधीन ल्याण्डफिल साइट तयार हुन अझै केही समय लाग्ने भएको छ।
चालु वर्षदेखि नयाँ ल्याण्डफिल साइटमा फोहोर व्यवस्थापन गर्नेगरि सहरी विकास विभाग र काठमाडौं महानगरपालिकाको सयुक्त पहलमा अघि बढेको उक्त योजनालाई यतिबेला लकडाउनले अवस्था असहज भएको छ। अत्यन्त सुस्त गतिमा निर्माणका काम भइरहेको ल्याण्डफिल साइटमा निर्माण सामाग्री नै लैजान सकेको ठेकेदार प्रतिनिधिहरूले बताइरहेका छन्।
सहरी विकास मंत्रालयका सचिव मधुसुदन अधिकारीले चालु आर्थिक वर्षको अन्तिमसम्ममा बञ्चरेडाँडामा फोहोर व्यवस्थापन कार्य थालनी गर्नेगरी पूर्वाधार निर्माणको काम भइरहेको बताए। उनका अनुसार ठेकेदार कम्पनीलाई काम पूरा गर्न निर्देशन दिइएको छ।
साइट निरीक्षणमा सचिव अधिकारी, काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृत एकनारायण अर्याल, सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक मणिराम गेलाल, उपमहानिर्देशकहरु पदम मैनाली, चक्रवर्ती कण्ठ, रामचन्द्र दंगाल र सडक विभागका डिभिजन इञ्जिनियर कुवेर नेपाली पुगेका थिए।
अवलोकनका क्रममा टोलीले हाल फोहोर व्यवस्थापन हुँदै आएको ओखरपौवास्थित सिसडोल ल्याण्डफिल साइटको अवस्था, साइटको पोष्ट क्लोजर योजना, ओखरपौवाबाट बञ्चरे पुग्ने सडक स्तरोन्नतिको अवस्था, बञ्चरेडाँडाको ल्याण्डफिल साइटमा भइरहेको पूर्वाधारको कामका विषयमा जानकारी लिएको थियो। त्यसैगरी लकडाउनका समयमा निर्माण कार्यलाई सुचारु गर्न आवश्यक पर्ने सामाग्रीको उपलब्धता र ढुवानी जस्ता काममा परेको अप्ठ्यारोलाई सहज गर्न मन्त्रालय र महानगरले सहजीकरण गर्ने विषयमा छलफल भएको थियो।
बञ्चरेडाँडामा स्यानिटरी ल्याण्डफिल साइट निर्माण गर्न २०७६ बैशाख २२ मा एक वर्षभित्र काम सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको थियो। लुम्बिनी-कोशी एण्ड न्यौपाने जेभीले ३४ करोड ६८ लाख ७४ हजार ८९५ रुपैयाँमा ठेक्का पाएको थियो। सम्झौताको तीन महिनाभित्र ठेक्केदारलाई ६ करोड ८० लाख रुपैयाँ मोबिलाइजेसनवापत भुक्तानी भइसकेको छ।
एक वर्षभित्र निर्माण पूरा गर्नेगरि ठेक्का लगाइएको भए पनि कोशी एण्ड न्यौपानेको स्वामित्व परिवर्तन भएपछि समस्या सुरु भयो। स्वामित्व परिवर्तन भएपछि कम्पनीले क्वालिटी एस्युरेन्स प्लान (क्युएपि) र मोबिलाइजेसनवापत ठेक्केदारलाई दिएको पेश्की रकमको विवरण बुझाउन सकेन। साइटमा काम पनि नियमित भएन।
गत पुस २२ मा ठेकेदारले परिवर्तित कार्यतालिका पेश गर्यो। पेश गरेको तालिका अनुसार पनि काम हुन सकेन। यसरी निर्माण पक्षबाट समयमा काम नभएपछि ल्याण्डफिल साइट निर्माणमा ढिलाइ भएको हो।
फोहोर व्यवस्थापन गर्न सिसडोल क्षेत्रमा सार्वजनिक र अधिग्रहण गरिएकोसहित ४७२ रोपनी र बञ्चरे डाँडामा १ हजार ७९२ रोपनी जग्गा छ।
२०६२ जेठ २२ मा विश्व वातावरण दिवसका दिनबाट काठमाडौं उपत्यकामा उत्पादन भएको फोहोर संकलन तथा ढुवानी गरेर नुवाकोट जिल्लाको साबिक ककनी गाविस (हाल ककनी गाउँपालिका) को ओखरपौवा क्षेत्रमा व्यवस्थापन गर्न थालिएको हो।
ओखरपौवाको क्षमता सकिएपछि आलेटारमा फोहोर व्यवस्थापन सुरु गरिएको थियो। आलेटारको पनि क्षमता सकिएपछि सिसडोल ल्याण्डफिल साइटकै क्षमता बढाएर फोहोर व्यवस्थापन गरिँदै आएको छ। काठमाडौं उपत्यकाबाट दैनिक १ हजार ४५ मेट्रिक टन फोहोर उत्पादन हुन्छ। १ हजार ४५ मेट्रिक टन फोहोरमध्ये सबैभन्दा धेरै काठमाडौं महानगर क्षेत्रबाट दैनिक ५१६ मेट्रिक टन र त्यसपछि ललितपुर महानगरबाट १३० मेट्रिक टन फोहोर संकलन गरेर ल्याण्डफिल साइटमा पुर्याउने गरिएको छ। उपत्यकाका १८ वटा नगरपालिकामध्ये भक्तपुर नगर क्षेत्रबाहेक अन्य सबै नगर क्षेत्रमा उत्पादन भएको फोहोर सिसडोल ल्याण्डफिल साइटमा व्यवस्थापन गरिँदै आएको छ।
महानगरको वातावरण व्यवस्थापन विभागका प्रमुख हरिकुमार श्रेष्ठका अनुसार अहिले सिसडोल ल्याण्डफिल साइटमा व्यवस्थापन भइरहेको छ। साइटको क्षमता सकिएर पोष्ट क्लोजर गर्नुपर्ने अवस्थामा पुगेको छ। फोहोरको अन्तिम व्यवस्थापन गर्न बञ्चरेडाँडा नै अन्तिम विकल्पका रूपमा हेरिएको छ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।