add

काठमाण्डौमा लकडाउन खुकुलो बनाउने तयारी , सवारी जोरविजोर प्रणालीमा चल्ने






ActPro Nepal

|

२० वैशाख, २०७७

|
1648

काठमाण्डौ । भारतले लकडाउन २ हप्ताले लम्ब्याएसँगै नेपालमा के हुन्छ भन्ने उत्सुकता बढेको छ । कोरोनाको संक्रमण नदेखिएका काठमाण्डौ लगायतका क्षेत्रका बासिन्दाका लागि नेपाल सरकारले खुशीको खबर ल्याउँदैछ । त्यो हो लकडाउनलाई क्रमशः खोल्दै जाने।

नेपाल सरकारले समेत स्वास्थ्य विज्ञहरुको सहयोगमा जोखिमका आधारमा विभिन्न क्षेत्रहरुको मार्किङ थालेको छ । जसअनुसार नेपालमा समेत अब कोरोना जोखिमका आधारमा ग्रीन, एल्लो र रेड जोड निर्धारण गरिनेछ । 

यी तीन खालका क्षेत्रमध्ये ग्रीन जोनमा पर्ने क्षेत्रहरुमा बैशाख २६ गतेदेखि नै लकडाउन खुकुलो पार्न थालिने ‘कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर(सिसीएमसी)’का एक सदस्यले जानकारी दिएका छन् । 

उनकाअनुसार अहिलेसम्मको अवस्थामा परिवर्तन भएन भने काठमाण्डौ उपत्यका पनि ग्रीन जोनमा पर्नेछ । किनभने यहाँ कोरोना संक्रमितको संख्या शून्य छ । यहाँको अस्पतालमा उपचार गराइरहेका विभिन्न क्षेत्रका कोरोना संक्रमितमध्ये अधिकांश यसअघि नै निको भएर घर फर्किसकेका छन् । 

‘काठमाण्डौ उपत्यका लगायत ग्रीन जोनमा पर्ने क्षेत्रहरुमा बैशाख २६ गतेपछि निजी यातायात खुल्ला गर्न सकिनेछ ।’ ती सदस्यले भने–‘एकैपटक सबै निजी सवारीलाई चल्न दिइन्न, जोरविजोर प्रणाली लागू गरेर निजी सवारीलाई चल्न दिइनेछ ।’ 

स्वास्थ्यविज्ञ समेत रहेका ती सदस्यका अनुसार निजी सवारीलाई जोरविजोर प्रणाली लागू गरेर चल्न दिइए पनि सार्वजनिक यातायात,आन्तरिक तथा अन्तराष्ट्रिय उडान चाहि तत्काल खुल्ने छैन । 

यस्तै, सरकारले नेपालका ग्रीन जोनमै पर्ने क्षेत्रहरुमा समेत आन्तरिक लकडाउन मात्र खुकुलो पार्नेछ । उदाहरणका लागि काठमाण्डौ उपत्यकाबाट मानिसहरु तत्काल बाहिर जान पाउने  छैनन् भने बाहिरबाट समेत काठमाण्डौ उपत्यकामा मान्छेलाई प्रवेश गर्न दिइनेछैन । ग्रीन जोनमा पर्ने अन्य क्षेत्रमा समेत यस्तै प्रणाली अपनाइनेछ । 

यस्तै, जोखिम सबैभन्दा कम रहेका ग्रीन जोनमा पर्ने क्षेत्रहरुका अत्यावश्यक बाहेकका पसलहरु समेत खुल्ला गर्न दिइनेछ । तर, त्यस्ता ठाउँहरुमा सामाजिक दूरी कायम गर्नुपर्नेछ ।

यसैगरी, बैंक तथा वित्तीय संस्था यो क्षेत्रमा पूर्ण रुपमा खुल्नेछन् भने इकमर्स, उद्योग कलकारखानाहरु समेत शर्तसहित खुलाउन दिइनेछ।

त्यसपछि अवस्थाको विश्लेषण गरेर थप क्षेत्रहरु खुलाइने बताइएको छ । 

काठमाण्डौ बाहेक गण्डकी प्रदेशका अधिकांश क्षेत्र समेत ग्रीन जोनमा पर्नेछन् । यस्तै, कर्णाली प्रदेश, अधिकांश हिमाली तथा पहाडी जिल्ला समेत ग्रीन जोनमा पर्नसक्ने देखिएको ती विज्ञले जानकारी दिए। 

भारतसँग सीमा जोडिएका तराई क्षेत्रका प्रदेश तथा जिल्लाहरुमा भने तत्काल लकडाउन खुकुलो हुनेछैन । सो क्षेत्रमा बरु केही हप्ता अझै कडाई गरिनेछ । भारतसँग सीमा जोडिएका क्षेत्रहरुको लकडाउन भारतसँगको समन्वयमा मात्र खोलिनेछ, अर्थात भारतले जहिलेसम्म बढाउँछ, त्यो बेलासम्म नेपालले समेत बढाउनुपर्ने बाध्यता रहेको ती विज्ञले जानकारी दिए । 

प्रदेशका कुनै जिल्ला विशेषलाई ग्रीन जोनमा राख्ने जिम्मा प्रदेशस्तरमा गठित सिसीएमसीलाई दिइनेछ । त्यहाँका जिल्लाहरुको मार्किङ गरी केन्द्रको निर्देशनअनुसार लकडाउन खुकुलो बनाउने वा कडाई गर्ने भन्ने विषयमा निर्णय लिन प्रदेशहरु स्वतन्त्र हुनेछन् ।

एल्लो जोनमा रहेका क्षेत्रहरुमा भने निश्चित समय तोकेर पसलहरु संचालन गर्न दिने, केही घण्टा तोकेर सो अवधिमा मात्र आन्तरिक रुपमा निजी सवारीलाई चल्न दिने लगायतका रणनीति अपनाउन सकिने ती सदस्यले जानकारी दिए । 

सरकारको निर्देशनमा सिसीएमसी र स्वास्थ्य मन्त्रालयका विज्ञहरुले लकडाउनको मोडालिटीको विषयमा धमाधम गृहकार्य गरिरहेका छन्। 

कतिपय विज्ञले सरकारलाई बैशाख १६ गतेदेखि नै काठमाण्डौ लगायतका क्षेत्रको लकडाउन खुकुलो बनाउन सुझाव दिएका थिए । तर, सरकारले भने ती सुझावको उपेक्षा गर्दै १० दिनले लकडाउन लम्ब्याएको थियो । सरकारको पछिल्लो कदमलाई कतिपय विज्ञहरुले भने कोरोनाभन्दा पनि सत्तासँग जोडेर गरिएको निर्णय पनि भन्ने गरेका छन् । 


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.