add

गाउँ फर्केपछि मकै, कोदो जे छ खाउँला...






ActPro Nepal

|

११ वैशाख, २०७७

|
670

काठमाडौं । ‘काम गर्ने मान्छेलाई यो शहरमा उसै बस्न गाह्रो हुँदोरहेछ, बरु गाउँ गएर मकै छरेर लकडाउन सकिएपछि आउँछु ।’ सिन्धुली सिरथौलीकी निर्मला तामाङ बन्दाबन्दीको समयमा पनि गाउँ जान पाउँदा खुशी छिन् । उनलाई लकडाउनपछिको एक महिना एउटै कोठामा बिताउन गाह्रो भएको थियो । दैनिक ज्यालादारी गरेर तीन छोरछोरी पढाउँदै आएकी उनले झण्डै एक महिना पहिलेदेखि भने हात बाँधेर बस्नुपर्‍यो । 

तामाङले लकडाउन पहिले एक बोरा चामल, दाल, चिनीलगायतका खाद्यान्न किनेकी थिइन् । त्यही खानेकुरा खाँदै गर्दा वडा कार्यालयबाट पनि राहत पाइन् । आफूले किनेको र राहतको खाद्यान्न घरमै बसेर खाँदा सकिँदै गएकाले उनलाई फेरि पाइने हो कि होइन भन्ने चिन्ता थियो । एउटा सानो कोठामा तीन सन्तानलाई अड्याएर राख्न पनि हम्मेहम्मे परेको थियो । आफ्नो घर गएपछि ढुक्कले बस्न पाइने उनको भनाइ छ । उनले भनिन्– ‘घर गएपछि त मकै, कोदो जे–जे छ त्यही खाए भो नि ।’

लकडाउनका कारण खान–बस्न कठिनाइ आएकाले घर फर्किने शर्मिला मात्रै होइन । बुधबार साँझ सिन्धुली, सिन्धुपाल्चोक, रामेछापलगायतका जिल्ला जाने धेरै व्यक्ति जडीबुटी क्षेत्रमा आफ्नो पालिकाले पठाएको गाडी कुरिरहेका भेटिन्थे । यसरी घर फर्किनेको भीडमा सबैभन्दा बढी दैनिक मजदुरी गर्ने र विद्यार्थी छन् । लकडाउन लम्बिँदै जाँदा आफूसँग भएको रासन र पैसा सकिएपछि उनीहरु घर फर्किन लागेका हुन् ।

 सिन्धुलीकै मरिन गाउँपालिकाका प्रेम मगर र दीपेन्द्र मगर पनि घर जानका लागि जडीबुटीमा गाडी कुरिरहेका थिए । लुगाफाटोसहितको ठूलो बोरा बोकेर बिहान खाना खाएपछि गाउँ जानका लागि कपनबाट हिँडेको उनले बताए । सार्वजनिक सवारी साधन चलाउँदै आएका उनीहरुले लकडाउनपछि काम गर्न पाएका छैनन । उनीहरुले पहिले वडामा राहतका लागि फारम भरेनन् ।  आफूसँग बाँकी रहेको रासन सकिएपछि भरे पनि वडाले बाँड्न बाँकी रहेको उनले बताए । काम गर्न नपाएकै कारण घर जान हिँडेको उनीहरुले बताए । उनले भने, ‘गाडी बन्द हुँदा मुखै बन्द होला भन्ने डर, बरु आफ्नै घर पुगेपछि आनन्द ।’

रामेछाप मन्थली नगरपालिकाका सीताराम नेपाली र शर्मिला नेपाली दैनिक ज्यालादारी काम गरेरै दुई सन्तानलाई पढाएर बसेका थिए । काम गर्न नपाएपछि उनीहरुले घर जाने निधो गरे । कतिपय साथीभाइ र आफन्त अघिल्लो साता नै हिँडेर घर फर्किए पनि साना नानीहरु भएकाले घर जान आँट नगरेको उनले बताए । 

नगरपालिकाले गाडी पठाउँछ भन्ने खबर हिजो साँझ पाएको उनले बताए । उनीहरु दुई सन्तानलाई डो¥याउँदै मनमैजुबाट कयौँ घण्टा लगाएर जडीबुटी आइपुगेको बताए । उनले भने, ‘गाडी आएर जान पाए त दिनभरि हिँडेको पनि बिर्सिन्थ्यो ।’

सिन्धुली दुधौलीका महेश चौधरी र देवी चौधरी पनि साना दुई नानी च्यापेर गाडी कुरिरहेका थिए । लामो समयसम्म काठमाडौँमा कष्टकररूपमा बस्दै आएका उनीहरु घर फर्किन गाडी पाइने भनेपछि दङ्ग थिए । उनीहरुले एकपटक राहत पाएका थिए ।

त्यो रासन सकिनै लागेकाले फेरि पाइने हो कि होइन भनी चिन्ता रहेकाले पनि घरै जाने निर्णय गरेको उनले बताए । कोठामा दिनभर बसिरहँदा सन्तानले पनि यो चाहियो र त्यो चाहियो भन्दै मागरिरहने उनले बताए । उनले भने, ‘तरकारी किन्न त पैसा छैन उनीहरुलाई मागेजति कुरा कहाँ पु¥याउन सकिन्छ र ?’

कोटेश्वरचोकदेखि जडीबुटी हुँदै लोकञ्थलीसम्म स्थानीय तहले व्यवस्थापन गरेको गाडीमा घर जानेहरु समूह–समूहमा देखिन्थे । कतिपय मास्क त कतिपय महिलाले आफूले ओढिरहेको पछ्यौरा र सलले आफ्नो र सन्तानको मुख ढाकिरहेको देखिन्थ्यो ।

उनीहरुमध्ये अधिकांशले सन्तानका लागि भन्दै साथमा चाउचाउलगायतका थोरै खानेकुरा पनि बोकेको देखिन्थ्यो । प्रहरीहरु भने उनीहरुलाई व्यवस्थापनका लागि दिउँसोदेखि नै खटिएका थिए । दिउँसो २ बजेदेखि नै यहाँ घर फर्किनेहरु आइरहेको ड्युटीमा खटिएका प्रहरीले जानकारी दिए । 

साना नानी र झोला च्यापेर बाटोमा प्रहरीको गाली सहँदै घण्टौँ हिँडेर आएका उनीहरु यो दुःखभन्दा पनि घर फर्किन पाउने कुराले दङ्ग छन् । – रासस


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.