काठमाडौं । नेपाल प्रेस युनियन काठमाडौं शाखाले विभिन्न सञ्चारगृहमा कार्यरत पत्रकार र क्यामेराम्यानहरुका लागि मास्क र प्रेस ज्याकेट उपलब्ध गराएको छ । शनिबार सञ्चारगृहमै पुगेर शाखाका अध्यक्ष जगन्नाथ दुलालले सो सामग्री हस्तान्तरण गरेका हुन् ।
विशेष गरी रिपोर्टिङमा जाँदा टेलिभिजनका क्यामेरापर्सन र फोटो पत्रकार बढी जोखिममा रहेको भन्दै शाखाले विशेष प्रकारको मास्क उपलब्ध गराएको हो ।
एपीवान टेलिभिजन, प्राइम टिभी, एभिन्युज टेलिभिजन, योहो टिभी, सरोकार टेलिभिजनमा मास्क उपलब्ध गराइएको हो । त्यस्तै, विभिन्न दैनिक पत्रिकामा कार्यरत फोटोग्राफरका लागि पनि प्रेस युनियनले मास्क र प्रेस ज्याकेट उपलब्ध गराएको अध्यक्ष दुलालले जानकारी दिए ।
नेपाली जनसम्पर्क समिति जर्मनीलेको सो सहयोग कांग्रेस नेता प्रकाशमान सिंहमार्फत् प्रेस युनियन काठमाडौं शाखालाई उपलब्ध गराएको हो ।
“यो प्रतिकुल अवस्थामा सहयोग गर्ने जनसम्पर्क समिति जर्मनी र माननीय प्रकाशमान सिंहप्रति यो सहयोगका लागि काठमाडौं प्रेस युनियन आभार व्यक्त गर्दछ,’ अध्यक्ष दुलालले भने, “जे सकिन्छ हामीले हाम्रोतर्फबाट सञ्चारकर्मीहरुका लागि सहयोग गर्ने प्रयास गरेका छौं । पर्याप्त नभए पनि यसले धेरथोर सहयोग पुग्ने हाम्रो विश्वास छ ।’
प्रेस युनियन काठमाडौं शाखाका निवर्तमान अध्यक्ष नकुल अर्यालले विगतमा भूकम्पको समयमा पनि सञ्चारकर्मीलाई प्रेस युनियन काठमाडौं शाखाले पावरब्यांक, पेनड्राइभ र रिचार्ज कार्ड उपलब्ध गराएको स्मरण गर्दै पत्रकारको समस्यामा सहयोग गर्नु नै प्रेस सम्बद्ध संस्थाको दायित्व भएको बताए ।
अहिलेको संकटपूर्ण अवस्थामा पनि कार्यालयमै आएर सहयोगप्रति एपीवान टिभीका सम्पादक टीकाराम यात्री, प्राइम टिभीका ऋषि धमला र योहो टिभीका अध्यक्ष आङकाजी शेर्पाले आभार व्यक्त गरेका थिए । युनियनले यसअघि पनि एक सय थान प्रेस ज्याकेट र ३८ जना सञ्चारकर्मीलाई खाद्यान्न सहयोग गरेको थियो ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।