add

प्रधानमन्त्री ओली फर्किए पुरानै 'फर्म'मा, ठट्यौली पारामा दिए 'कोरोनाका टिप्स'






ActPro Nepal

|

६ वैशाख, २०७७

|
630

काठमाडौं। सामाजिक सञ्जालमा अहिले एउटा भिडियो निकै भाइरल भइरहेको छ। कोरोना भाइरसबारे प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना मन्त्री र उच्च पदस्थ कर्मचारीलाई सिंहदरबारमा दिएको प्रवचन चर्चित बनेको हो।

भिडियोमा प्रधानमन्त्री ओलीले कोरोनालाई निर्जिव भाइरस भनेर सम्बोधन गरेका छन्। त्यतिमात्रै होइन, उनले तातोपानीले मुख धुन समेत सुझाएका छन्। त्यसैगरी गर्मीको सिजन आइरहेको बेला उनले आइसक्रिम नखान भनेका छन्। मास्कले भाइरस नरोकिने भन्दै चश्मा लगाउन समेत भनिरहेका छन्।

उनले भाइरसलाई निर्जीव तत्व भन्दै गीता ज्ञानतिर जानुपर्ने खतरा हुने भनेर ठट्टासमेत गरेका छन्। भाइरल भएको भिडियोले प्रधानमन्त्री ओलीलाई पुरानै फर्ममा फर्केको देखाएको छ। व्यङ्ग्य र हास्यरससहित प्रधानमन्त्रीको भाषण दिने शैली चर्चित छ। विरामी भएयता उनले थोरैमात्र सार्वजनिक अभिव्यक्ति दिएका छन्। तिनमा आलोचनाका शब्दहरु रहे पनि व्यङ्ग्य चाहिँ कम नै थियो। तर, यसमा भने उनी पुरानै शैलिमा प्रस्तुत देखिन्छन्।

कोरोना भाइरसको बाहिरी तहमा बोसो हुने र सोही बोसोले यो भाइरसलाई सजीव अर्थात् जिवित राख्ने ओलीले बताएका छन्।

मुलधारको सत्ता आएपछि ठट्यौली इमेज बनाएका ओलीले संसारलाई तहसनहस पारेको माहामारी कोरोना भाइरसबारे दिएको प्रवचनले उनको आलोचना पनि भएको छ। उखान टुक्का, ठट्टा उनको विशेषता हो।

अहिलेको सम्वेदनशील समयमा पनि ओलीले प्रवचन दिएपछि सामाजिक सञ्जालमा 'भाइरस विशेषज्ञ डाक्टर खड्गप्रसाद शर्मा ओली' भन्दै आलोचना गर्नेहरु सक्रिय भएका छन्। केहीले ओलीले विभिन्न विश्वविद्यालयबाट लिएका मानार्थ विद्यवारिधी (पीएचडी डाक्टर) सँग जोड्दै 'भाइरस डाक्टर' भनेका छन्। केहीले बालुवाटारमा नयाँ कुरा पत्ता लगाएको भन्दै नोबेल पुरस्कारका लागि सिफारिस गर्नुपर्ने भन्दै ठट्टा गरेका छन्। केहीले त बारम्बार अस्पताल गइरहने भएकाले ओली डाक्टरको संगतले डाक्टर बनेको टिप्पणी गरेका छन्।

यस्तो छ ओलीको कोरोनामाथिको प्रवचन

कोरोना भाइरस भनेको निर्जीव तत्व हो। निर्जीव तत्वमा बोसो (फ्याटिय) तत्वले यसलाई जिवित तत्वका रुपमा सक्रिय गराइदिन्छ।

त्यसकारण तातोपानीको बाफ लिने, तातो पानी खाने, चिसोमा बढी जोड नदिने, आइसक्रिमजस्ता कुरा नखाने, हात धुँदाखेरि सकिन्छ भने तातोपानीले धुने, मनतातो पानीले मुख धुने, यो ठूलो विधि हो।

भाइरस छ भने पनि तातोपानीले हात धुने बितिकै त्यसको बाहिरी लेयरको बोसो पग्लिएपछि त्यो त निर्जीव हो, समाप्त हुन्छ। मर्ने होइन। त्यसको जुन जीव तत्वको रुपमा बाहिरी लेयरको बोसोयुक्त तत्व, जसले उपद्रो मच्चाउन सक्थ्यो, त्यो समाप्त हुन्छ।

भाइरस किन मार्न सकिँदैन भन्दा त्यो निर्जीव तत्व हो। त्यसकारण निर्जीव तत्वको गीता ज्ञानतिर जानुपर्ने खतरा हुन्छ (हाँस्दै)। यो निर्जीव तत्व हो। त्यसकारण यसलाई मार्न सकिँदैन। जसको जीवन छैन, त्यसलाई कसरी मार्ने? त्यसकारण यो मर्दैन। यसलाई जीव तत्वको रुपमा सक्रिय गराउने इलिमेन्टहरु छन्। ती इलिमेन्टहरुबाट हामी मुक्त हुने हो।

म साथीहरुलाई भन्न चाहन्छु । मास्कमात्र लगाएर पर्याप्त हुँदैन। मास्क सँगै चश्मा पनि लगाउनुस्। सबभन्दा बढी छिटो सर्ने मुखबाट, त्यसपछि दोस्रो आँखाबाट, त्यसपछि मात्रै नाकबाट सर्छ। आँखाबाट छिटो सर्छ। त्यसकारण भरसक चश्मा लगाउनु वाञ्छनीय हुन्छ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.