add

'विदुरलाई उदाहरणीय नगर बनाउनेछौं' प्रभा बोगटी






ActPro Nepal

|

२० वैशाख, २०७९

|
1056

माओवादी केन्द्रको तर्फबाट उपमेयरको उम्मेदवार, विदुर नगरपालिका

नुवाकोट विदुर नगरपालिका वडा नं. ७स्थित तुप्चेकी स्थायी वासिन्दा प्रभा बोगटी माओवादी केन्द्रका तर्फबाट सोही नगरपालिकाको उप–प्रमुखमा उम्मेदवारी दिनुभएको छ । पारिवारिक राजनीतिक पृष्ठभूमिका कारण सानैदेखि राजनीतिमा आवद्ध हुनुभएकी उहाँ माओवादी आन्दोलनका शीर्ष नेतामध्ये एक पोष्टबहादुर बोगटी ‘दिवाकर’ की छोरी हुनुहुन्छ ।


विद्यार्थीकालदेखि राजनीतिक यात्रा सुरु गर्नुभएकी उहाँले जनयुद्ध सुरु भएपछि तत्कालीन सरकार पक्षको धरपकडका कारण घरमा बस्ने र पढ्ने वातावरण नभएपछि युद्धमा होमिनुभएको थियो । जनमुक्ति सेनामा क्रियाशील रहँदा चर्चित खारा आक्रमणदेखि पश्चिम नेपालका धेरै फौजी मोर्चाहरुमा सहभागी भएको अनुभव छ।


शान्ति प्रक्रियामा आएपछि जनमुक्ति सेनाको व्यारेकमा बस्नुका साथै पछि स्वैच्छिक अवकाश लिई पत्रकारितातिर लाग्नुभयो। विभिन्न पत्रपत्रिकामा काम गर्नुका साथै समाचार लेखन तथा हिमालय टेलिभिजनमा लामो समय समाचार वाचिकाको रुपमा काम गर्नुभयो ।


त्यस्तै प्रेस सेन्टरको केन्द्रीयसचिवसमेत भइसक्नुभएकी उहाँ हाल नेकपा (माओवादी केन्द्र)बिदुर नगर कमिटीको अध्यक्ष पनि हुनुहुन्छ । स्थानीय तह निर्वाचन २०७९ मा गठबन्धनको तर्फबाट विदुर नगरपालिकाको उपमेयरको उम्मेदवार बन्नुभएकी माओवादी नेतृ बोगटीसँग यहाँ निर्वाचन केन्द्रीत कुराकानी गरिएको छ–


तपाईले उम्मदवारी दिनुभएको नगरपालिकाका विशेषता के के हुन् ?


विदुर नगरपालिका प्रमुख व्यापारिक केन्द्र पनि हो । यहाँ रसुवा, धादिङदेखि आम नागरिक स्वास्थ्य उपचार तथा सर–सामान किन्नका लागि आउने गर्दछन् । त्यस्तै यस नगरपालिकाको ऐतिहासिक र पुरातात्विक महत्व पनि छ ।

नेपाल एकीकरणका बेला पृथ्वीनारायण शाहले काठमाडौं आक्रमण गर्नुपूर्व यहाँ बसेर विभिन्न योजनाहरु बनाएका थिए । ती स्थानहरुलाई संरक्षित गरिएको छ । जस्तो नुवाकोट दरबार, पृथ्वीनारायण शाहको निधन भएको स्थान देवीघाटमा उहाँको सालिक बनाइएको छ । विभिन्न धार्मिक, ऐतिहासिक र पुरातात्विक सम्पदाहरु छन् ।


तपाईंका चुनावी एजेण्डाहरु के–के हुन् ?


हामीले ठूला कुरा गरेर पूरा नगर्नुभन्दा पनि जति गर्न सकिन्छ त्यति बोलेर जानुपर्छ । नगरभित्रका पाँच विद्यालयहरुलाई नमुना विद्यालय बनाएर अत्याधुनिकीकरण गर्ने । कम्प्युटर कोठाहरु, ल्याबहरुको व्यवस्था गरी अत्याधुनिक प्रविधियुक्त बनाउने योजना छ ।  
त्यस्तै एउटा नगरमा एउटा बहुप्राविधिक विद्यालय स्थापना गर्ने भन्ने माओवादी केन्द्र र सरकारको योजनाअनुसार विदुर नगरपालिका वडा नं. १ मा ‘पोष्टबहादुर बोगटी बहुप्राविधिक शिक्षालय’ स्थापना गरिएको छ । हाल भवन भाडामा लिएर स्कुल सञ्चालन गरिएकोमा चाँडै नै विद्यालयको भौतिक संरचना र विकास कामहरु गरी नगरपालिकामा दक्ष जनशक्ति उत्पादन गर्न विशेष जोड दिइनेछ ।


त्यस्तै नेवार, तामाङ समुदायको बाहुल्यता रहेको यस पालिकामा उनीहरुको मातृभाषा लोप हुने अवस्थामा रहेकाले मातृभाषाको कक्षा सञ्चालनमा नगरपालिकाले पहल गर्नेछ ।
त्यसैगरी नुवाकोट दरबारलाई फास्ट ट्र्याकबाट विश्व सम्पदा सूचीमा लैजान प्रयास गर्ने, नगरपालिकामा ‘नो भ्यू टावर, नो डोजर’ गर्ने, मुख्य सडकलाई अनिवार्य कालोपत्रे गर्ने र भद्रगोल तरिकाले बाटो खन्न नदिने हाम्रो गठबन्धनको साझा एजेण्डा रहेको छ ।
त्यसैगरी कृषि र पशुपालनको माध्यमबाट जनताको जीविकोपार्जन हुने गरी नगरपालिकाको तर्फबाट बजार व्यवस्थापन गर्ने हाम्रो उद्देश्य रहेको छ ।


तपाईंका जितका आधारहरु के–के हुन्?


विदुर नगरपालिकामा एमालेले नेतृत्व गरिरहँदा जनताले नयाँ सोच, विकासको प्रत्याभूति गर्न पाएनन् । जनताकाआवश्यकता र मागहरुको सम्बोधन नहुँदा एमाले नेतृत्वको स्थानीय सरकारप्रति मतदाताहरु रुष्ट बनेका छन् । त्यसको विपरित हामीसँग भएको नयाँ सोच र भिजनप्रति स्थानीय आकर्षित भएका छन् । त्यस्तै, राजनीतिक रुपमा अहिले हामीले प्रतिगमनविरोधी गठबन्धनको तर्फबाट निर्वाचनमा होमिएका छौं । एमाले नेतृत्वले गरेको गलत कामको जनताले पनि मूल्यांकन गरेका छन् । पटक–पटक संविधानमाथिको प्रहारलगायत एमालेले एकपछि अर्काे गलत कार्य गर्दै आएको जनताले बुझ्नु भएको छ ।
यस पालिकामा मेयरका उम्मेदवार राजन श्रेष्ठ हुनुहुन्छ, उहाँ युवा । म पनि महिला अनि युवा । हामीमा काम गर्ने जोश जाँगर छ । हाम्रो प्रतिनिधित्वप्रति युवा र महिला समुदायको अत्यधिक आकर्षण छ ।


पालिकामा भ्रष्टाचारको अवस्था कस्तो छ ?


देशव्यापी मौलाएको भ्रष्टाचारबाट विदुर नगरपालिका पनि अछुतो हुन नसकेको छैन । नगरपालिकाको विकासका बजेटहरु पारदर्शी ढंगले खर्च हुन सकेको छैन । वडा नं. १३ मा कागती लगाउने योजनामा पालिकाले बजेट खर्च ग¥यो । तर जनस्तरबाटै यहाँ व्यापक भ्रष्टाचार भयो भन्ने आवाज उठिरहेको छ ।


नगरपालिकाभित्र जाँदा पनि आफ्नो वा आफ्नो पार्टीको हो कि होइन भन्ने आधारमा वार्षिक बजेट सीमित व्यक्तिहरुको पहुँचमा मात्रै पु¥याउने काम भएको छ । यस्तो भ्रष्टाचारको अवस्था जनताले पनि महशुस गरेका छन् । हामी राजनीतिक दलहरुले पनि बारम्बार यसबारे सचेत गराइरहेका छौं । हामी अबको निर्वाचनबाट नगरको नेतृत्वमा आएपछि विगतमा भएका भ्रष्टाचारको उचित छानविन गर्नुका साथै आगामी दिनमा विदुर नगरपालिकालाई भ्रष्टाचाररहित नगर बनाएर उदाहरणीय बनाउनेछौं ।


प्रस्तुति: पुष्पा महरा






एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.