add

विश्वका अब्बल कामदार तान्न यूएईको डिजिटल घुमन्ते भिसा नीति, ठूला अर्थतन्त्र भएका देश दबाबमा






ActPro Nepal

|

२४ असोज, २०७९

|
486

काठमाडौं । दुबई भन्नासाथ तपाईँको दिमागमा के आउँछ? हेरिरहूँ लाग्ने गगनचुम्बी भवनहरू, मानव निर्मित टापु र मनै भुलाउने सपिङ मलहरू। तर त्यहाँको सरकारको कल्पनाको दुबई फरक छ।

आफ्नो योजना सफल भए त्यहाँको सरकारले यो इमिरेट्सलाई युरोप र एसियाको रणनीतिक केन्द्र बनाउन सक्छ। जसका लागि हजारौँ प्रतिभावान् कामदारहरूले त्यसको जग बसाल्नेछन्।

यो क्षेत्रमा नयाँ प्रतिभाहरू आकर्षित गर्न युनाइटेड अरब इमिरेट्स (यूएई)को सरकारले सन् २०२१ को मार्चमा कार्यालय नगइ काम गर्नेहरूका लागि एक वर्षे डिजिटल नोम्याड भिसा मार्फत आवासीय अनुमति योजना सार्वजनिक गर्‍यो।जुलियन ट्रम्ब्ले जस्ता सफ्टवेयर इन्जिनियरहरूलाई यस्तो भिसाले दुबईमा बसेर विदेशी रोजगारदाताहरूका लागि काम गर्न अवसर दियो।

यो कस्तो भिसा हो

 यस्तो आवास अनुमति पाउने आगन्तुकहरूले दुबईमा आवासीय परिचयपत्र र अधिकांश सार्वजनिक सेवामा पहुँच पाउँछन्।उदाहरणका लागि ट्रम्ब्लेले यहाँ कानुनी रूपमै घर भाडामा लिन र ब्याङ्क खाता खोल्न पनि पाउँछन्। उनले आफ्नो आयकर पनि यहाँ तिर्नुपर्दैन।

‘जब म साढे पाँच वर्षअघि डिजिटल दुनियाँको फिरन्ते बनेँ त्यस बेला धेरै कम भिसाका विकल्पहरू थिए,’ उनी भन्छन्। यूएईले अघि सारेको यस्तो भिसा योजनाले ठूलो अवसर सिर्जना गर्ने उनको बुझाइ छ।

‘यसले तपाईँलाई दोधारमा रहनुपर्ने अवस्थाबाट मुक्ति दिन्छ र आफू बसेको ठाउँप्रति प्रतिबद्ध बनाउँछ। तपाईँ यदि आफ्नो देशमा गैर आवासीय बन्न चाहनुहुन्छ भने पनि तपाईँ प्रवासी भएको प्रमाणित गर्न सहज छ।,’

यसअघि डिजिटल दुनियाँमा काम गर्ने फिरन्तेहरू अनिश्चयका बीच काम गरिरहेका हुन्थे। उनीहरूलाई विदेशमा बसेर काम गर्न अनुमति दिइँदैन थियो र स्थानीय काम पनि पाउन मुस्किल थियो।

यो नयाँ योजनाले कार्यालय नगइकन काम गर्न सक्ने पेसाकर्मी र व्यवसायीहरूलाई पनि राहत दिएको छ। यहाँ बसेर काम गर्नेहरूले आफ्नो देशको नागरिकता र अन्य सुविधाका लागि आफ्नै देशमा कर तिर्ने हुँदा यसलाई कर छलीको माध्यमको रूपमा पनि हेरिएको छैन।

यसका फाइदा के छन्

हालसम्म २५ भन्दा धेरै देश वा क्षेत्रले घुमन्ते भिसाको योजना सार्वजनिक गरेको माइग्रेसन पोलिसी इन्स्टिच्युटको प्रतिवेदनमा उल्लेख छ।

कोभिड महामारीले सुरु गर्न हौस्याएको यो प्रचलन सुरुमा पर्यटनमा आश्रित केही युरोपेली र क्यारेबियन देशहरूले थालेका थिए। अहिले यूएई, ब्रजिल र इटली जस्ता ठूला देशहरूले पनि यस्तो योजना अघि सारेका छन्।

यी देशहरूका लागि डिजिटल घुमन्ते भिसाको उद्देश्य नयाँ सोच र प्रतिभालाई आफ्नो ठाउँमा आकर्षित गर्ने र कार्यालय नगइ गर्न सकिने कामलाई संस्थागत गर्नु हो। जसले स्थानीय अर्थतन्त्रमा पनि विदेशी मुद्रा ल्याउन मद्दत पुर्‍याउँछ।

ट्रम्ब्ले जस्ता घुमन्तेहरूका लागि यस्तो भिसाले बारम्बार आफू बस्ने ठाउँ परिवर्तन गरिरहन भन्दा एकै ठाउँमा लामो समय बिताउन हौस्याएको छ। यसरी बस्दा उनीहरूले स्थानीय संस्कृति बुझ्न र त्यसमा घुलमिल हुन पनि अवसर पाउँछन्।

खर्च कति लाग्छ?

 यस्तो भिसाका लागि आवश्यक मापदण्ड देश अनुसार फरक छ। तर कार्यालय नगइ काम गर्ने प्रमाण, यात्रा बिमा र भिसा पाउनेहरूले स्थानीय काम नगरी आफ्नो खर्च पुर्‍याउन सक्ने न्यूनतम मासिक आय जस्ता विवरणहरू चाहिँ प्राय सबैसँग खोजिन्छ। उदाहरणका लागि यूएईमा यस्तो भिसा लिन महिनाको ५,००० डलर आम्दानी भएको प्रमाण पेस गर्नुपर्छ भने माल्टामा २,७७० डलर र ब्रजिलमा १,५०० डलर भए पुग्छ।

यस्तो भिसा आवेदनका लागि लाग्ने शुल्क समेत देशहरू अनुसार फरक फरक छ। कुनै कुनै देशले न्यूनतम २०० डलर देखि कुनैले अधिकतम २००० डलरसम्म भिसा आवेदन शुल्क लिने गरेका छन्। आवास अनुमति पनि देश र भिसा अनुसार न्यूनतम छ महिनादेखि अधिकतम दुई वर्षसम्म छ।कतिपय भिसा आवेदन गर्नेहरूले यस्तो पैसा अन्य सुविधाको माध्यमबाट फिर्ता पनि पाउन सक्छन्।

यसको उदाहरण आर्जेन्टिना पनि हो। त्यहाँ भिसाको शुल्कका आधारमा डिजिटल घुमन्तेहरूलाई घर भाडामा छुट, शुल्क तिरेर आफ्नो काम गरेर बस्न मिल्ने स्थानहरूमा छुट तथा आर्जेन्टिनाको सरकारी विमानका आन्तरिक उडानहरूमा पनि छुट दिइन्छ।

घुमन्ते भित्राउन लगानी

 इटलीको फाइभ स्टार मुभमेन्ट पार्टीका सांसद लुका काराबेट्टाका अनुसार अन्य देशहरूमा अभ्यासमा रहेका उत्कृष्ट डिजिटल घुमन्ते भिसाका सुविधाहरू समावेश गरेर उक्त देशले पनि यस्तो भिसा ल्याउँदै छ।यस्तो सुविधाले विश्वका पाँच प्रतिशत डिजिटल घुमन्तेहरू आकर्षित हुने बताइन्छ।

‘डिजिटल घुमन्तेहरूले वास्तुकला देखि इन्जिनियरिङसम्मका सीपहरू लिएर आउँछन्। त्यस कारण पनि विदेशबाट सीप लिएर आउनेहरूका लागि देश खुल्ला राख्न राम्रो हो,’ काराबेट्टा भन्छन्।

युरोपभरिमै बुढापाकाहरू धेरै रहेको आफ्नो देशमा यस्तो भिसाले युवाहरूलाई आकर्षित गर्ने उनको बुझाइ छ। एकपटक आफ्नो देशमा आएका युवाहरूले त्यहाँ स्थायी रूपमै बस्नेबारे समेत मूल्याङ्कनको मौका पाउने उनी बताउँछन्।

‘हाम्रो लक्ष्य भनेको उनीहरूलाई पाहुनाको रूपमा इटलीमा ल्याउने हो र सम्भव भएसम्म यहीँ स्थापित गर्ने पनि हो,’ उनी भन्छन्।नयाँ भिसाको तयारीका लागि सूचना प्रविधिको विस्तार र ग्रामीण क्षेत्रहरूमा पूर्वाधार तथा यातायातको स्तरीकरणमा १० लाख युरो भन्दा धेरै खर्च गरेको काराबेट्टा बताउँछन्। उनीहरूले डिजिटल घुमन्तेहरू देशको ग्रामीण इलाकामा बसेर त्यहाँको आर्थिक विकासमा समेत सहयोग पुर्‍याउने अपेक्षा लिएका छन्।

छुट्टै योजना

भेनिस र फ्लोरेन्स जस्ता सहरहरूले डिजिटल घुमन्तेहरूको आगमन र बसाइ सहज बनाउन विभिन्न कार्यक्रमहरू अघि सारेका छन्।हार्वर्ड बिजनेस स्कुलमा कामको बदलिँदो भूगोलबारे अनुसन्धान गरेका पृथ्वीराज चौधरीका अनुसार यसबाट इटली जस्ता देशहरूलाई ठूलो फाइदा हुनसक्छ।

‘सबैभन्दा पहिले त यस्ता कामदारहरूले स्थानीय अर्थतन्त्रमा डलर भित्राउँछन्,’ उनी भन्छन्, ‘अझै बढी चाहिँ उनीहरूले स्थानीय व्यवसायीहरूसँग पनि सम्बन्ध बनाउँछन्।’ चौधरीका अनुसार देशहरूका लागि सीपको आदान प्रदान पनि ठूलो अवसर हो। यसका लागि उनीहरूले आफ्नो देशको अर्थतन्त्रमा सहयोग पुर्‍याउन सक्ने सही घुमन्ते आकर्षित गरे पुग्छ।

चिलेले कसरी फाइदा लियो

 यसका लागि उनी स्टार्ट अप चीले कार्यक्रमलाई ऐतिहासिक उदाहरण मान्छन्। सन् २०१० मा यो देशले विदेशी उद्यमीहरूलाई चीलेमा एक वर्ष बसेर आफ्नै नवप्रवर्तन उद्यम सुरु गर्न तथा स्थानीय प्रतिभालाई प्रशिक्षित गर्न भिसा र नगद अनुदान समेत दियो।त्यस बेलासम्म चीलेमा नवप्रवर्तन उद्यमको सामान्य अवधारणा थियो। सीप आदान प्रदानको उपलब्धि यो देशमा त्यसको एक दशकपछि देखा परेको छ।

अहिले चीलेका उद्यमीहरूले शाकाहारी खाद्य प्रविधि नट को र ग्रोसरी डेलिभरी एप कर्नरसप सहितका एक अर्ब डलर बराबरका मौलिक उद्यमहरू सुरु गरेका छन्। ‘एक वर्ष मात्रै विदेशी प्रतिभाहरू आफ्नो देशमा बोलाएर राख्न सक्दा कस्तो प्रणाली विकास हुनसक्छ भन्ने यो राम्रो उदाहरण हो,’ चौधरी भन्छन्।

उनको बुझाइमा डिजिटल घुमन्ते भिसा लिनेहरूमा उदाउँदो अर्थतन्त्र भएका देशहरू वा आफ्नो देशका प्रतिभाहरू ठूला देशमा पलायन हुने परम्परा भएका साना देशका नागरिकहरू हुन सक्छन्।

‘यसअघि कम्पनीहरू मात्रै प्रतिभा भित्राउन प्रतिस्पर्धा गरिरहेका हुन्थे भने अहिले देशहरू नै प्रतिभा भित्राउने प्रतिस्पर्धामा उत्रिएका छन्,’ चौधरी थप्छन्।

ठूलो अर्थतन्त्र भएका देशहरू दबाबमा

 ठूलो अर्थतन्त्र भएका देशहरूले प्रतिस्पर्धामा रहन पनि डिजिटल घुमन्तेहरूलाई भिसाको अवसर खुलाउने चौधरीको प्रक्षेपण छ। कार्यालय नगइ काम गर्नका लागि राम्रो प्रणाली बनाउने देशहरूले यसबाट सबैभन्दा धेरै लाभ लिने र यसका लागि देशहरूले उनीहरूसँग मन मिल्ने उद्यमी वा मानिसहरूसँग सम्पर्क गराइदिन सक्ने उनी बताउँछन्।’जब यी मानिसहरू जान्छन् हामीले उनीहरूलाई देशसँग जोडिइरहने कार्यक्रम बनाउनुपर्छ जसले समुदायमा योगदान पुर्‍याउन र उनीहरूलाई फेरि पनि आइरहने बाटो बनाओस्,’ उनी भन्छन्।

डिजिटल घुमन्ते भिसाले आकर्षक अवसरहरू दिए पनि यसले नयाँ खाले चुनौतीहरू पनि सिर्जना गरेको छ। उदाहरणको लागि यसले स्थानीय स्तरमा जीवनयापन गर्न लाग्ने खर्च बढाउने र स्रोतहरू उपलब्ध गराउने प्रतिस्पर्धाका कारण अति धेरै विशेषाधिकारहरू सिर्जना गर्न सक्ने माइग्रेसन पोलिसी इन्स्टिच्युट रिपोर्टका लेखकहरू बताउँछन्।

उनीहरूले इन्डोनेसियाको बाली र भारतको गोवालाई डिजिटल घुमन्तेको केन्द्रको रूपमा अध्ययन गरेर ती ठाउँमा हालै देखिएका समस्याहरूबारे उल्लेख गरेका छन्।

यसले सिर्जना गर्ने समस्या

 राम्रो आम्दानी भएका कामदारहरूले स्थानीय पूर्वाधार र सेवामा पहुँच पाउने तर त्यहाँ कर नतिर्ने व्यवस्थाले कर तिर्ने स्थानीयबासीहरूमा आक्रोश पैदा गर्छ।कतिपय विज्ञहरूले डिजिटल घुमन्ते भिसाले पहिलो चरणमै आकर्षण पाउनेमा प्रश्न उठाएका छन्।

मानिसहरूको विश्वव्यापी आवतजावतबारे तथ्याङ्क राख्ने भिसाडिबी डट आइओ का प्रमुख कार्यकारी अधिकृत डेनिस सोमरो भन्छन्,-‘ठूलो सङ्ख्यामा घुमन्ते कामदारहरूले अझै पनि छ महिने पर्यटक भिसा रोज्छन्। डिजिटल नोम्याड भिसा पाउन हुने कठिनाइ पनि यसको एउटा कारण हो।’

सोमरोका अनुसार झन्झटिलो कागजी प्रक्रिया, महँगो स्वास्थ्य परीक्षण र मासिक आम्दानीको प्रमाण पेस गर्न हुने चुनौतीका कारण पनि धेरैजसो घुमन्ते कामदारहरू पर्यटक भिसामै प्रवेश गर्न रुचाउँछन्। उनीहरू भिसाको अवधि थप्न परेमा छोटो समयका लागि अर्को देश पुगेर पुन: फर्केर आउँछन्। उनीहरू यसै पनि त घुमन्ते स्वभावका हुन्छन्।

आफूले पनि करिब पाँच वर्षसम्म यस्तै गरेर दुबईको लागि डिजिटल नोम्याड भिसा आवेदन दिएको ट्रेम्ब्ले बताउँछन्। ‘जागिर वा लगानी नगरे पनि यहाँकै बासिन्दा जस्तो व्यवहार पाउँदा राम्रो लाग्ने रहेछ,’ उनी भन्छन्।यी सफ्टवेयर इन्जिनियर आफ्नो अर्को गन्तव्य तय नहुँदा सम्म दुबईलाई नै आधार बनाएर आफ्नो भविष्य तय गर्ने विचारमा छन्। -बीबीसी


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.