नुवाकोट । जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोटले सवारी दुर्घटना न्यूनीकरण गर्न सचेतना अभियान सुरु गरेको छ । सदरमुकाम विदुर देखि टोखा–छहरे–त्रिशूली–काठमाडौं सडक मार्गका दुर्घटना संभावित क्षेत्रहरूमा विशेष निगरानी बढाएको छ।
ट्राफिक प्रहरीले यस मार्गमा प्रत्येक दिन सवारी चेकजाँच गरिरहेको छ । नियम उल्लङ्घन गर्ने चालकहरूलाई कारबाही मात्र नगरी सुरक्षित यात्राको लागि आवश्यक नियमहरूको बारेमा समेत जानकारी दिने गरेको छ।
अस्थाई ट्राफिक प्रहरी पोष्ट गुर्जे भञ्ज्याङका हवल्दार गीता प्रसाद काफ्लेका अनुसार, "हामीले चालकहरूलाई सवारी चालक अनुमति पत्र, सवारीसाधनको कागजातहरू साथमा राख्न र सुरक्षित गतिमा सवारी चलाउन सचेत गराउँदै आएका छौँ ।"
"तीव्र गतिमा सवारी चलाउँदा दुर्घटना जोखिम बढ्ने भएकाले सुरक्षित गतिमा सवारी चलाउन र आवश्यक कागजातहरू लिएर मात्र यात्रा गर्न सुझाव दिइरहेका छौँ," उनले भने। "नियम पालना नगर्ने चालकहरूलाई आवश्यक कारबाही पनि गरिनेछ ।"
यस अभियान मार्फत सवारी चालक, व्यवसायी तथा यात्रुहरूलाई ट्राफिक नियमको महत्त्व बुझाउन र सडक दुर्घटना न्यूनीकरण गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।