add

नेपाली विद्यार्थीलाई अस्ट्रेलिया भिसामा कडाइ, तोक्यो कोटा






ActPro Nepal

|

११ भदौ, २०८१

|
218

काठमाडाैं । अस्ट्रेलियाले कति सङ्ख्यामा नयाँ विदेशी विद्यार्थीलाई अध्ययन गर्ने अवसर दिने भनेर सीमा निर्धारण गर्ने भएको छ। अस्ट्रेलियाले कोभिड महामारीपूर्वको तहमा आप्रवासन घटाउने प्रयास गरिरहेको छ।सर्वाधिक विदेशी विद्यार्थी स्वीकार गर्ने देशहरूको सूचीमा अस्ट्रेलिया माथितिरै पर्छ। तर आगामी वर्ष सन् २०२५ मा भर्ना हुन आउने नयाँ विद्यार्थीको सङ्ख्या २ लाख ७० हजारमा सीमित हुने छ।

 कसरी लागू हुन्छ ?

 उच्च शिक्षा प्रदान गर्ने प्रत्येक संस्थाका लागि सीमा तोकिने अस्ट्रेलिया सरकारले मङ्गलवार घोषणा गरेको छ।सरकारको घोषणाअनुसार व्यावसायिक प्रशिक्षण र तालिम दिने संस्थाहरूले विदेशी विद्यार्थी भर्ना गर्न पाउने सङ्ख्या सर्वाधिक घटाइएको छ।

यो परिवर्तनबाट उच्च शिक्षा प्रदान गर्ने उद्योगमा असन्तुष्टि उत्पन्न भएको छ। केही विश्वविद्यालयले यसलाई ‘शैक्षिक बर्बरता’को सङ्ज्ञा दिएका छन्। तर सरकारले यो निर्णयबाट शैक्षिक क्षेत्रको गुणस्तर र आयु बढ्ने तर्क गरेको छ।यो वर्षको सुरुतिर सरकारले प्रकाशित गरेको तथ्याङ्कका अनुसार अस्ट्रेलियामा ७ लाखभन्दा बढी विदेशी विद्यार्थी छन्।

 सरकार के भन्छ

शिक्षामन्त्री जेसन क्लेअरले कोभिड महामारीका बेला उच्च शिक्षा नराम्ररी प्रभावित भएको जनाएका छन्। त्यतिबेला अस्ट्रेलियाले विदेशी विद्यार्थीलाई स्वदेश फिर्ता गरेको थियो, अनि सीमामा कडाइ गरेको थियो।

उनका अनुसार अहिले विश्वविद्यालयहरूमा अध्ययनरत विदेशी विद्यार्थीको सङ्ख्या कोभिड महामारीअघिको तुलनामा १० प्रतिशतले बढी छ। व्यावसायिक प्रशिक्षण र तालिम दिने निजी संस्थामा उक्त सङ्ख्या ५० प्रतिशतसम्मले बढी रहेको उनले बताए।

‘विद्यार्थीहरू फेरि आएका छन्, शङ्कास्पद व्यापार गर्नेहरू पनि। चाँडै पैसा कमाउन मानिसहरू यो उद्योगलाई दुरुपयोग गर्न खोज्दै छन्,’ क्लेअरले भने।

सरकारले यसअघि केही शैक्षिक संस्था सञ्चालकहरूले ‘अनैतिक’ गतिविधि गरेको आरोप लगाएको थियो। सरकारका अनुसार भाषाको पर्याप्त ज्ञान नभएका विद्यार्थीलाई भर्ना गरिएको, कम गुणस्तरको शिक्षा वा तालिम दिइएको र अध्ययनका लागि नभई काम गर्ने उद्देश्यले आउने मानिसहरूलाई विद्यार्थीका रूपमा भर्ना गरिएको पाइएको थियो। ‘यसलाई अझ राम्रो र स्वच्छ बनाउन यस्तो सुधार गरिएको हो,’ उनले भने।

आप्रवासन नियन्त्रणमा कस्तो सहयोग

आप्रवासनका कारण आवास र भौतिक संरचनामा चाप बढेको भन्दै मन्त्री क्लेअरले यस्तो कडाइबाट आप्रवासनको तह नियन्त्रण गर्न सहयोग पुग्ने बताए।

सरकारले विदेशी विद्यार्थीहरूका लागि अङ्ग्रेजी भाषाको ज्ञान जाँच्ने कडा मापदण्ड निर्धारण गरिसकेको छ। साथै दोस्रो पटक अध्ययन गर्न निवेदन दिनेहरूका लागि भिसामा थप जाँच हुने बताइसकेको छ।सरकारले शैक्षिक संस्थाबाट बदमासी गर्ने सयौँ सञ्चालकहरूलाई कारबाही गर्ने घोषणा पनि गरेको छ।

केमा कति सीमा

 उनका अनुसार सन् २०२५ मा सार्वजनिक विश्वविद्यालयमा भर्ना हुने विद्यार्थीको सङ्ख्यालाई घटाएर झन्डै २०२३ कै तहमा अर्थात् १ हजार ४५ हजार बनाइने छ। निजी विश्वविद्यालय तथा विश्वविद्यालयबाहेकका अन्य उच्च शिक्षा प्रदायकले ३० हजारसम्म विदेशी विद्यार्थी भर्ना गर्न सक्ने छन्। त्यसैगरी व्यावसायिक शिक्षा तथा तालिम प्रदान गर्ने संस्थाहरूमा ९५ हजारको सीमा रहने छ।

क्लेअरका अनुसार नयाँ नीतिले अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई आवास निर्माणका लागि विश्वविद्यालयहरूलाई सहुलियत पनि प्रदान गर्ने छ।

 उच्च शिक्षा प्रदायकको असन्तुष्टि

 उच्च शिक्षा प्रदायकहरूले भने आवास तथा आप्रवासनसम्बन्धी समस्याको दोष शिक्षा उद्योगलाई लगाउन खोजिएको बताएका छन्। नयाँ सीमाले यस क्षेत्र तहसनहस हुने उनीहरूको भनाइ छ।

सन् २०२२-२३ मा अस्ट्रेलियाको अर्थतन्त्रमा वैदेशिक शिक्षाको हिस्सा ३६.४ अर्ब अस्ट्रेलियन डलर (वा २४.७ अर्ब अमेरिकी डलर) थियो। उक्त वर्ष शिक्षा यस देशले निर्यात गरेको चौथो ठूलो वस्तु तथा सेवा बनेको थियो।

सिड्नी यूनिभर्सिटीले यस वर्षको सुरुमा तयार पारेको एक प्रतिवेदनअनुसार प्रस्तावित कटौतीले सन् २०२५ मा अस्ट्रेलियाको अर्थतन्त्रमा ४.१ अर्ब अमेरिकी डलरजतिको घाटा हुने छ। त्यसै गरी २२,००० मानिसले रोजगारी गुमाउने छन्।उक्त विश्वविद्यालयका आधाजसो विद्यार्थी विदेशी छन्।

अस्ट्रेलियाका केही प्रतिष्ठित विश्वविद्यालयको एक प्रतिनिधिमूलक संस्थाका प्रमुख कार्यकारी बिकी थम्प्सनले प्रस्तावित कानुन ‘कडा’ र ‘हस्तक्षेपकारी’ भएको टिप्पणी गरेका छन्।

केही महिनाअघि दिएको एक वक्तव्यमा उनले यी नियमहरू ‘आर्थिक बर्बरता’को तहमा पुगेको बताएका थिए।मन्त्री क्लेअरले पनि केही सेवाप्रदायकले आफ्नो बजेटलगायतका विषयमा कठिन निर्णय गर्नुपर्ने अवस्था आएको कुरा स्वीकार गरे। तर यसले उक्त क्षेत्रमा क्षति पुर्‍याउने कुरा उनी मान्दैनन्।

उनले भने, ‘यसले कुनै किसिमबाट अन्तर्राष्ट्रिय शिक्षालाई तहसनहस पारेको आभास सिर्जना गर्न खोज्नु पूर्णतः र आधारभूत रूपमै गलत छ।’ बीबीसी


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2025. ALL RIGHTS RESERVED.