add

कवि राजेन्द्र तारकिणीको ‘बिगन रामको मादल’ विमोचन






ActPro Nepal

|

४ असोज, २०७९

|
893

काठमाडौं । कवि राजेन्द्र तारकिणीद्वारा लिखित कविता कृति ‘बिगन रामको मादल’ विमोचन गरिएको छ। 

सोमबार संविधान दिवसको अवसर पारेर नेपाल प्रज्ञा प्रतिष्ठानमा कवि/साहित्यकार श्यामल, कवि तथा चलचित्र निर्देशक राजेन्द्र शलभ, कवि/समीक्षक एवं प्राध्यापक गीता त्रिपाठी र लेखक/समीक्षक राजकुमार बानियाँ लगायतले कृतिको विमोचन गरेका हुन्। 

विमोचनपछि कृतिमाथि समीक्षात्मक अन्तरक्रिया गरिएको थियो। प्रस्तोता राजकुमार बानियाँले वक्ता श्यामल, शलभ र त्रिपाठीलाई पालैपालो कवि तारकिणीका कविताको भावभूमि, सबल पक्ष, समकालीन कवितामा उनको स्थान र सीमाबारे प्रश्न गरेका थिए। 

कवि श्यामलले कवि तारकिणीका कविता सशक्त रहेको बताउँदै भने, ‘झारपात कुरा उठाएर राजेन्द्रले समय खर्च गरेका छैनन्। कवितामा राजेन्द्रको चिन्ता शासकप्रतिको हैन, आम सामान्य मान्छेको चिन्ता छ। त्यसैले उनका कविता भूपि, रिमालका कविताकै चिन्तासँग मिल्दोजुल्दो छ।’

‘कविताको किताब पढिसकेपछि त्यसभित्रका कविता सम्झिइयो भने म त्यस्तो कृतिलाई सफल कृति ठान्छु। कवि तारकिणीको यो किताब पढिसक्दा मैले १०/१२ वटा कविता सम्झिएँ। त्यसैले यो कृति सफल छ,’ कार्यक्रमका अर्का वक्ता राजेन्द्र शलभले भने।

उनले तारकिणीका कविता कुनै वादसँग जोड्नु आवश्यक नरहेको बताए। ‘तारकिणीका कविता उनको मनकै अभिव्यक्ति हुन्, ती कवितामा आफ्नै शैली भएकाले सफल छन्,’ उनले भने। 

कवि एवं समीक्षक गीता त्रिपाठीले यो युगलाई पढ्न चाहनेहरुका लागि कुनै समय राजेन्द्र तारकिणीका कविता पनि एउटा इतिहास बन्ने बताए। उनले भने, ‘तारकिणीका कविता विम्बैविम्बले भरिएका छन्। दोहोरिएका विम्ब छैनन्।’

कार्यक्रममा युवानेता माधव पन्तले कविबारे संक्षिप्त टिप्पणी राख्दै गाउँदेखि सहरसम्म आइपुग्दाका उतारचढाव, श्रवणशक्ति गुमाउँदाको पीडा र हालको संघर्षबारे बताए। यसैगरी नेपाली सांकेतिक भाषामा पहिलो शोध (थेसिस) गरेकी शिलु शर्माले सांकेतिक भाषाका माध्यमबाट कवि तारकिणीलाई सञ्चारमा सहजीकरण गरेकी थिइन्। शिखा बुक्सले प्रकाशन गरेको पुस्तक ६ खण्डमा विभाजित छ। जसमा ५४ कविता संग्रहित छन् भने पुस्तकको मूल्य ३०० रहेको छ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.