८ महिनामै २६ लाख लाइसेन्स छापियो, साउनपछि राजस्व बुझाएकाले तुरुन्तै पाउने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । लामो समयदेखि थन्किएको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम अन्तिम चरणमा पुगेको छ। सम्झौता भएको करिब साढे ८ महिनामै पुराना मितिका करिब २९ लाख लाइसेन्समध्ये २५ लाख ९२ हजार ४ सय १७ वटा लाइसेन्स छापिसकिएको सुरक्षण मुद्रण केन्द्रले जनाएको छ।

केन्द्रका अनुसार बाँकी ३ लाख ७ हजार ५ सय ८३ वटा लाइसेन्स एक वर्षभन्दा कम समयावधिका भएकाले नवीकरणपछि मात्र छापिनेछन्। यातायात व्यवस्था विभागबाट प्राप्त विवरणअनुसार छाप्नुपर्ने सबै योग्य लाइसेन्सको छपाइ सम्पन्न भइसकेको केन्द्रले जनाएको छ।

पुराना लाइसेन्स छपाइका लागि यातायात व्यवस्था विभाग र सुरक्षण मुद्रण केन्द्रबीच पहिलो चरणमा १२ लाख लाइसेन्स छाप्ने सम्झौता २०८२ कात्तिक १२ गते भएको थियो। उक्त सम्झौताअनुसार २०८३ वैशाख १२ भित्र पहिलो चरणको छपाइ सम्पन्न गरी विभागलाई हस्तान्तरण गरिएको थियो।

त्यसपछि २०८३ वैशाख ४ गते दोस्रो चरणमा १७ लाख लाइसेन्स छाप्ने सम्झौता गरिएको थियो। सो सम्झौताअनुसार २०८३ असार ३२ भित्र छपाइ सम्पन्न गर्ने लक्ष्य राखिएको थियो।

विभागका अनुसार पुराना लाइसेन्स छपाइ भइरहेका बेला अत्यावश्यक सेवासम्बन्धी काम भने प्रभावित भएको थिएन। पहिलो चरणमा ३७ हजार ६ सय ९८ अत्यावश्यक लाइसेन्स तथा दैनिक राजस्व बुझाएका ३१ हजार २ सय २७ सेवाग्राहीका लाइसेन्स नियमित रूपमा छापिएको थियो।

यस्तै दोस्रो चरणमा पनि पुराना लाइसेन्ससँगै ४ हजार ८ सय ८१ अत्यावश्यक लाइसेन्स तथा ट्रायल पास गरी वा नवीकरणपछि राजस्व बुझाएका २ लाख २९ हजार ९ सय १८ वटा नयाँ लाइसेन्ससमेत छापिएको विभागले जनाएको छ।

अब पुराना मितिका लाइसेन्सको छपाइ सम्पन्न भएकाले साउन महिनादेखि ट्रायल पास गर्ने तथा नवीकरणपछि राजस्व बुझाउने सेवाग्राहीले लाइसेन्सका लागि लामो समय कुर्नुपर्ने अवस्था अन्त्य हुने अपेक्षा गरिएको छ। सुरक्षण मुद्रण केन्द्रका अनुसार आवश्यक प्रक्रिया पूरा गर्ने सेवाग्राहीले अब लाइसेन्स छिट्टै प्राप्त गर्नेछन्।

छापिएका लाइसेन्स सुरक्षण मुद्रण केन्द्रबाट यातायात व्यवस्था विभागमा पठाइनेछन्। विभागले हुलाक सेवामार्फत देशभरका ४२ वटा यातायात व्यवस्था कार्यालयमा ती लाइसेन्स वितरण गर्ने व्यवस्था मिलाएको जनाएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।