स्वास्थ्य क्षेत्रको पूर्वाधार निर्माणमा स्रोतको कमी हुँदैन : अर्थमन्त्री पौडेल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले स्वास्थ्य क्षेत्रको पूर्वाधार निर्माणमा स्रोतको कमी नहुने बताएका छन्।

ललितपुरको गोदावरी नगरपालिकामा बज्रबाराही चापागाउँ अस्पतालको १५ शय्या भवन निर्माणको शिलान्यास गरेपछि बोल्दै अर्थमन्त्री पौडेलले ३९६ स्थानीय तहमा आधारभूत अस्पताल निर्माणका लागि अर्थ मन्त्रालले ५७ अर्ब ९७ करोड रुपैयाँ बराबरको स्रोत सुनिश्चित गरेको जानकारी दिए।

उनले स्वस्थसँग बाँच्न पाउनुपर्ने संविधानको मौलिक हकअनुसार स्थानीय तहमा सुविधा सम्पन्न पूर्वाधार, डाक्टर, स्वास्थ्यकर्मी, स्वास्थ्य उपकरणको उपलब्धताका लागि महाअभियानका रुपमा स्थानीय तहहरुमा एकसाथ आधारभूत अस्पताल निर्माणका लागि शिलान्यास गरिएको बताए।

अर्थमन्त्री पौडेलले १८ करोड रुपैयाँको सीमामा रहेर १५ शय्याको अस्पताल निर्माण गर्न सकिने भन्दै पूर्वनिर्धारित समय दुई वर्षअघि नै निर्माण कार्य सम्पन्न गर्ने गरी काम गर्न आग्रह गरे।

उनले अस्पताल निर्माण गर्दा लागत, गुणस्तरीयता र समयमा काम सक्ने कुरालाई विशेष ध्यान आग्रह गरे।

अर्थ मन्त्रालयले एक हप्ताअघि ५, १० र १५ शय्याका आधारभूत अस्पताल दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी बहुवर्षीय ठेक्का प्रक्रिया अघि बढाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई सहमति दिएको थियो।

अर्थ मन्त्रालयले स्थानीय तहहरुमा आधारभूत अस्पताल निर्माणका लागि ६ अर्ब १२ करोड २६ लाख रुपैयाँ स्थानीय तहमा पठाइसकेको छ।

अर्थमन्त्री पौडेलले सातवटा प्रदेशमा सरुवा रोग नियन्त्रणका लागि ५०/५० शय्याका अस्पताल निर्माणको प्रारम्भिक कार्य अघि बढाउन ५६ करोड रुपैयाँको व्यवस्था गरिएको जानकारी दिए। “अस्पताल निर्माणको कार्य अघि बढ्दै जाँदा थप बजेटको निकासा हुन्छ। बजेटको अभाव हुँदैन,” अर्थमन्त्री पौडेलले भने।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।