काठमाडौं । कैलालीको चिसापानीदेखि राजकाँडासम्म निर्माण भइरहेको जालपादेवी केबलकार अबको एक महिनाभित्रै व्यावसायिक सञ्चालनमा आउने भएको छ ।
आईएमई ग्रुपको लगानीमा निर्माणाधीन उक्त परियोजना सञ्चालनको अन्तिम तयारीमा जुटेको ग्रुपका अध्यक्ष चन्द्र ढकालले जानकारी दिए ।
ढकालले देशका सातै प्रदेशमा मौलिक पर्यटन पूर्वाधार निर्माण गर्ने अभियानअन्तर्गत सुदूरपश्चिममा सुरु गरिएको यो यात्रा साकार रूप लिने संघारमा आइपुगेको बताए । प्रचुर पर्यटकीय सम्भावना भएर पनि ठूला पूर्वाधारको पर्खाइमा वर्षौँ बिताएको सुदूरपश्चिमका लागि यो आयोजना एक महत्वपूर्ण कोसेढुंगा साबित हुने उनको विश्वास छ ।
कर्णाली पुल र चिसापानीको सौन्दर्य नियाल्न अहिले पनि उल्लेख्य संख्यामा आन्तरिक तथा सीमापारिका भारतीय पर्यटक आउने गरेको उल्लेख गर्दै ढकालले केबलकार बन्ने खबरले मात्र पनि चिसापानी र राजकाँडा क्षेत्रमा पर्यटकको चहलपहल बढेको र स्थानीय निकै उत्साहित देखिएको बताए । केबलकार सञ्चालनसँगै यस क्षेत्रमा रौनकता थपिने र पर्यटकको बसाइ लम्ब्याउने आधार तयार हुने उनले उल्लेख गरेका छन्।
यस परियोजनालाई केवल केबलकारका रूपमा मात्र नभई एकीकृत पर्यटकीय गन्तव्यका रूपमा विकास गरिरहेको ढकालले जानकारी दिए। उनका अनुसार आयोजनाको तल्लो (बटम) र माथिल्लो (टप) स्टेसनका धेरैजसो संरचना तयार भइसकेका छन्। यस्तै, गुरुयोजनाअनुसार स्तरीय होटल, रिसोर्ट, क्यासिनो, रेस्टुरेन्ट, चिल्ड्रेन पार्क, पदमार्ग र धार्मिक आस्थाको केन्द्र जालपादेवी मन्दिरजस्ता अन्य संरचनाहरू पनि क्रमशः तयार हुँदै गएका छन्।
सहायक संरचनाहरू थपिँदै जाँदा पर्यटकलाई कम्तीमा एक दिन अड्याउन सकिने र यसले स्थानीय अर्थतन्त्रको समग्र चक्रलाई चलायमान बनाउने ढकालको भनाइ छ। पर्यटकको बसाइ लम्बिएसँगै स्थानीय यातायात, साना व्यवसाय र कृषि उपजले आफ्नै आँगनमा दिगो बजार पाउने उनले बताए। साथै, स्थानीय युवाले गाउँठाउँमै रोजगारी पाउँदा वैदेशिक रोजगारीको बाध्यता कम भई जीवनस्तर उकासिने र राज्यको राजस्वमा समेत महत्वपूर्ण योगदान पुग्ने उनले विश्वास व्यक्त गरेका छन्।
आयोजना यहाँसम्म आइपुग्नुमा स्थानीय बासिन्दाको माया, स्थानीय, प्रदेश र संघीय सरकार, सरोकारवाला निकाय, सूर्य थापालगायत स्थानीय साझेदार तथा अहोरात्र खटिने इन्जिनियर र परियोजना टिमको ठूलो साथ र सहयोग रहेको भन्दै ढकालले सबैप्रति हार्दिक आभार व्यक्त गरेका छन्। निर्माणको अन्तिम चरणमा रहेको परियोजनाका पछिल्ला तस्बिरहरू सार्वजनिक गर्दै उनले स्थानीयको जीवनस्तर र अर्थतन्त्र उकास्दै यो परियोजना समग्र सुदूरपश्चिम र देशकै एक गौरवको आयोजना बन्ने विश्वास व्यक्त गरे।
विभिन्न चरणमा गरी करिब ६ अर्ब रुपैयाँ लगानी अनुमान गरिएको परियोजनामा ३.१ किलोमिटर लामो केबलकार, होटल, रेष्टुरेन्ट, स्काइवाक, पार्क, पदमार्ग तथा अन्य पर्यटकीय पूर्वाधार निर्माण भइरहेका हुन्।




Comment