नेपाल टेलिकमको अन्तर्राष्ट्रिय कलमा अब सबै देशमा ६० सेकेन्डको पल्स दर लागू हुने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल टेलिकमले विदेशमा फोन गर्दा लाग्ने अन्तर्राष्ट्रिय बहिर्गमन कल (आउटगोइङ कल) को पल्स अवधि परिवर्तन गरेको छ । अब नेपालबाट विदेशमा कल गर्दा सबै देशमा ६० सेकेन्डको पल्स दर लागू हुने भएको छ ।

टेलिकमका प्रवक्ता डा. कमल लामिछानेले मंसिर ७ गते जारी गरेको प्रेस विज्ञप्तिअनुसार नयाँ व्यवस्था २०८३ मंसिर ८ गतेदेखि लागू हुनेछ ।

यसअघि अन्तर्राष्ट्रिय कलमा ३० सेकेन्डको पल्स दर कायम रहेकोमा गत २०८२ फागुन १ गतेको निर्णयअनुसार ५८ देशमा ६० सेकेन्डको पल्स दर लागू गरिएको थियो । अब भने बाँकी देशहरूमा समेत यो व्यवस्था लागू भएसँगै सबै देशमा समान पल्स अवधि कायम हुनेछ ।

दूरसञ्चार ऐन, २०५३ को दफा ४२ तथा नेपाल दूरसञ्चार प्राधिकरणको २०८३ भदौ २४ गतेको निर्णयअनुसार प्राप्त स्वीकृतिबमोजिम टेलिकमले पल्स अवधि परिमार्जन गरेको जनाएको छ ।

नयाँ व्यवस्थाअनुसार इन्टरनेसनल एक्सेस कोड ००, १४२४, १४२५ र १४४५ प्रयोग गरी विदेशमा कल गर्दा ६० सेकेन्डको पल्स दर लागू हुनेछ ।

विदेशमा फोन गर्दा ग्राहकले सुरुमा सम्बन्धित एक्सेस कोड, त्यसपछि देशको कन्ट्री कोड र अन्त्यमा सम्बन्धित सेवा प्रदायकको नम्बर डायल गर्नुपर्ने टेलिकमले जनाएको छ ।

विभिन्न देशमा कल गर्दा लाग्ने शुल्क तथा विस्तृत दररेट नेपाल टेलिकमको आधिकारिक वेबसाइटबाट हेर्न सकिनेछ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुक र ट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।