काठमाडौं । वरिष्ठ पर्यटन व्यवसायी सुमन विक्रम पाण्डे प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा)को अन्तर्राष्ट्रिय कार्यसमिति सदस्यमा पुनः मनोनीत भएका छन्।
पाटाका अध्यक्ष हेनरी ओ (दक्षिण कोरिया)ले पाण्डेलाई सल्लाहकारका रूपमा मनोनयन गरेपछि उनी कार्यसमितिको सदस्यमा पुनः चयन भएका हुन्। उनीसँगै साउदी अरेबिया पर्यटन प्राधिकरणका एसिया तथा प्रशान्त क्षेत्रीय अध्यक्ष अलहसन अल्डाब्बाग पनि कार्यसमिति सदस्यमा मनोनीत भएका छन्।
मलेसियाको सारावाकमा अगस्ट १८ देखि २० सम्म आयोजित पाटा ट्राभल मार्ट तथा संस्थाको ७५औँ वार्षिकोत्सव कार्यक्रमको पूर्वसन्ध्यामा बसेको कार्यसमिति तथा बोर्ड बैठकले उक्त मनोनयन अनुमोदन गरेको हो।
पाण्डे सन् २०१३ देखि पाटामा सक्रिय छन्। उनले सन् २०१३ देखि २०१७ सम्म पाटा नेपाल च्याप्टरको १२औँ अध्यक्षका रूपमा नेतृत्व गरेका थिए। त्यसैगरी, सन् २०२० देखि २०२४ सम्म लगातार दुई कार्यकाल पाटा अन्तर्राष्ट्रियको सचिव तथा कोषाध्यक्षको जिम्मेवारी सम्हालेका थिए।
उनको नेतृत्व क्षमता र संस्थागत योगदानको मूल्याङ्कन गर्दै सन् २०२४ देखि २०२६ सम्मका लागि पाटा अन्तर्राष्ट्रिय मुख्यालयको उपाध्यक्षमा समेत निर्वाचित गरिएको थियो। गत वैशाखमा पाटाले उनलाई आजीवन सदस्यता अवार्डबाट सम्मानित गरेको थियो।
३८ वर्षभन्दा लामो पर्यटन व्यवसायको अनुभव भएका पाण्डेले ट्रेकिङ, ट्राभल, वायुसेवा, होटल तथा रेस्टुरेन्टलगायत पर्यटनका विभिन्न क्षेत्रमा नेतृत्वदायी भूमिका निर्वाह गरेका छन्। उनी ट्रेकिङ एजेन्ट्स एसोसिएसन अफ नेपाल (टान)का पूर्वअध्यक्ष, नेपाल पर्यटन बोर्डका पूर्वसदस्य तथा एयरलाइन्स अपरेटर्स एसोसिएसन अफ नेपालका पूर्वमहासचिवसमेत हुन्।
यसअघि नेपाल पर्यटन वर्ष २०११ का कार्यकारी सदस्य रहेका पाण्डेले सन् २००९ डिसेम्बर ४ मा कालापत्थरमा सम्पन्न ऐतिहासिक मन्त्रिपरिषद् बैठकको मुख्य संयोजनसमेत गरेका थिए।
पाटाको अन्तर्राष्ट्रिय नेतृत्व तहमा पाण्डेको पुनः मनोनयनले नेपाली पर्यटन क्षेत्रको अन्तर्राष्ट्रिय उपस्थिति र प्रभाव विस्तारमा थप योगदान पुग्ने अपेक्षा गरिएको छ।




Comment