सरकारी विद्युत कम्पनीसँग एक हजार मेगावाट क्षमताको पीपीए गर्दै प्राधिकरण

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले सरकारको स्वामित्वमा रहेका विभिन्न विद्युत उत्पादन कम्पनीसँग विद्युत खरिद सम्झौता (पीपीए) गर्ने प्रक्रिया अघि बढाएको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठको निर्देशनपछि प्राधिकरणले करिब एक हजार मेगावाट क्षमताका आयोजनासँग पीपीए गर्न लागेको हो।

प्राधिकरणका सञ्चालक समिति सदस्य अंशुकिरण शाहीका अनुसार सरकारी स्वामित्वका कम्पनीसँग पीपीए गर्ने तयारी पूरा भइसकेको छ। यसै हप्ताभित्र प्राधिकरण सञ्चालक समितिबाट यससम्बन्धी निर्णय हुने उनले जानकारी दिएका छन्।

पीपीए गर्न लागिएका आयोजनामा २१० मेगावाटको चैनपुर सेती, ७० मेगावाटको सिम्बुवा, ४३९ मेगावाटको बेतन कर्णाली, १२४ मेगावाटको जगदुल्ला ‘ए’, ३० मेगावाटको विद्युत उत्पादन कम्पनीको सोलार आयोजना, ४५४ मेगावाटको किमाथांका र ७७ मेगावाटको चिलिमे सेतीलगायत रहेका छन्।

पीपीए सम्पन्न भएपछि सरकारी स्वामित्वका कम्पनीलाई आयोजनामा लगानी जुटाउन, आवश्यक पूर्वाधार निर्माण गर्न र विद्युत उत्पादन प्रक्रिया अघि बढाउन सहज हुने अपेक्षा गरिएको छ। आयोजनाबाट उत्पादित विद्युत नेपाल विद्युत प्राधिकरणले खरिद गर्नेछ।

ऊर्जा मन्त्री श्रेष्ठले सरकारी विद्युत उत्पादन कम्पनीहरूमा राज्यको लगानी र दायित्व बढ्दै गएको भन्दै तत्काल पीपीए प्रक्रिया अघि बढाउन प्राधिकरणलाई निर्देशन दिएका थिए। उनले सरकारी कम्पनीसँगै निजी क्षेत्रका विद्युत आयोजनाको पीपीए प्रक्रिया पनि अगाडि बढाउन निर्देशन दिइसकेका छन्।

मन्त्री श्रेष्ठको निर्देशनपछि प्राधिकरणले सरकारी तथा निजी क्षेत्रका आयोजनासँग चरणबद्ध रूपमा पीपीए गर्ने तयारी अघि बढाएको हो।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुक र ट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।