जीडीपीमा सेवा क्षेत्रको योगदान ६१.८१ प्रतिशत, उद्योगको हिस्सा बढ्दा कृषि क्षेत्र खुम्चियो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा सेवा क्षेत्रको योगदान सबैभन्दा बढी देखिएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदनअनुसार मुलुकको कुल गार्हस्थ्य उत्पादनमा सेवा क्षेत्रको हिस्सा ६१.८१ प्रतिशत पुगेको छ। यससँगै नेपालको अर्थतन्त्रमा सेवा क्षेत्रको वर्चस्व थप बलियो देखिएको छ।

प्रतिवेदनअनुसार अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा जीडीपीमा सेवा क्षेत्रको योगदान ६१.८० प्रतिशत रहेको थियो। समीक्षा वर्षमा यसमा सामान्य वृद्धि भएको हो।

सेवा क्षेत्रअन्तर्गतका विभिन्न उपक्षेत्रमध्ये वित्तीय तथा बीमासम्बन्धी क्षेत्रको उत्पादन सबैभन्दा बढी ९.१६ प्रतिशतले वृद्धि हुने अनुमान गरिएको छ। त्यस्तै, यातायात तथा भण्डारण क्षेत्र ५.७९ प्रतिशत, सूचना तथा सञ्चार क्षेत्र ५.५३ प्रतिशत, प्रशासनिक तथा सहयोगी सेवा क्षेत्र ४.५२ प्रतिशत र थोक तथा खुद्रा व्यापार एवं मोटरगाडी मर्मत सेवा क्षेत्र ४.५१ प्रतिशतले वृद्धि हुने अनुमान छ।

यसैगरी, मानव स्वास्थ्य तथा सामाजिक कार्य क्षेत्र ३.२७ प्रतिशत, आवास तथा भोजन सेवा क्षेत्र २.६९ प्रतिशत र शिक्षा क्षेत्र १.५० प्रतिशतले वृद्धि हुने प्रतिवेदनमा उल्लेख छ।

कृषि क्षेत्रको योगदान घटेर २४.०३ प्रतिशतमा

अर्थतन्त्रको प्रमुख आधारका रूपमा रहेको कृषि, वन तथा मत्स्यपालन क्षेत्रको जीडीपीमा योगदान भने घटेको छ। समीक्षा वर्षमा यस क्षेत्रको हिस्सा २४.०३ प्रतिशत कायम भएको छ। अघिल्लो आर्थिक वर्षमा यस्तो हिस्सा २४.५० प्रतिशत थियो।

बृहत् औद्योगिक वर्गीकरणअनुसार प्राथमिक क्षेत्र (कृषि, वन, मत्स्यपालन तथा खानी र उत्खनन्) को कुल गार्हस्थ्य उत्पादनमा योगदान २४.४६ प्रतिशत रहेको छ। अघिल्लो वर्ष यस्तो योगदान २४.९६ प्रतिशत थियो।

कृषि, वन तथा मत्स्यपालन क्षेत्रको वृद्धिदरसमेत सुस्त देखिएको छ। आर्थिक वर्ष २०८२/८३ मा यस क्षेत्रको वृद्धिदर १.५८ प्रतिशत रहने अनुमान गरिएको छ। अघिल्लो आर्थिक वर्षमा यस्तो वृद्धिदर ३.०५ प्रतिशत थियो।

उद्योग क्षेत्रको योगदान बढेर १४.१६ प्रतिशत

कुल गार्हस्थ्य उत्पादनमा उद्योग क्षेत्रको योगदान भने बढेको छ। समीक्षा वर्षमा उद्योग क्षेत्र (द्वितीय क्षेत्र) को हिस्सा १४.१६ प्रतिशत पुगेको छ। अघिल्लो आर्थिक वर्षमा यस्तो हिस्सा १३.७० प्रतिशत थियो।

बृहत् औद्योगिक वर्गीकरणअनुसार प्राथमिक, द्वितीय र तृतीय क्षेत्रको योगदान क्रमशः २४.४६ प्रतिशत, १३.७३ प्रतिशत र ६१.८१ प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ।

उद्योग क्षेत्रको समग्र वृद्धिदर आर्थिक वर्ष २०८२/८३ मा ५.६७ प्रतिशत रहने अनुमान गरिएको छ। अघिल्लो वर्ष यस्तो वृद्धिदर ३.३१ प्रतिशत मात्रै थियो।

उद्योग क्षेत्रअन्तर्गत विद्युत् तथा ग्यास क्षेत्रको उत्पादन सबैभन्दा उच्च २०.९३ प्रतिशतले वृद्धि हुने अनुमान छ। त्यस्तै, खानी तथा उत्खनन् क्षेत्र ३.५२ प्रतिशत, उत्पादनमूलक उद्योग २.८३ प्रतिशत, निर्माण क्षेत्र २.२१ प्रतिशत तथा पानी आपूर्ति, ढल र फोहोर व्यवस्थापन क्षेत्र १.९९ प्रतिशतले वृद्धि हुने प्रतिवेदनमा उल्लेख छ।

जीडीपीमा बागमती प्रदेशको योगदान सबैभन्दा बढी

प्रदेशगत रूपमा हेर्दा नेपालको कुल गार्हस्थ्य उत्पादनमा बागमती प्रदेशको योगदान सबैभन्दा बढी रहेको छ। आर्थिक वर्ष २०८२/८३ मा बागमती प्रदेशले कुल जीडीपीमा ३६.७१ प्रतिशत हिस्सा ओगट्ने अनुमान गरिएको छ।

त्यस्तै, कोशी प्रदेशको योगदान १५.८० प्रतिशत, लुम्बिनी प्रदेशको १४.१९ प्रतिशत, मधेश प्रदेशको १३.०८ प्रतिशत, गण्डकी प्रदेशको ८.९८ प्रतिशत र सुदूरपश्चिम प्रदेशको ७.०३ प्रतिशत रहेको छ।

कर्णाली प्रदेशको योगदान भने सबैभन्दा कम ४.२० प्रतिशत मात्रै रहेको प्रतिवेदनमा उल्लेख छ।

राष्ट्र बैंकको प्रतिवेदनले नेपालको अर्थतन्त्रमा सेवा क्षेत्रको हिस्सा निरन्तर उच्च रहेको देखाएको छ। उद्योग क्षेत्रको योगदान बढ्दै गर्दा कृषि क्षेत्रको हिस्सा र वृद्धिदर दुवैमा आएको गिरावटले अर्थतन्त्रका विभिन्न क्षेत्रबीचको संरचनात्मक परिवर्तनलाई समेत संकेत गरेको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुक र ट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।