काठमाडौं । नेपाली चलचित्रलाई विश्व बजारसँग जोड्ने र नेपाललाई अन्तर्राष्ट्रिय चलचित्र निर्माणको महत्वपूर्ण गन्तव्यका रूपमा स्थापित गर्ने उद्देश्यसहित आयोजना हुन लागेको नेपाल ग्लोबल फिल्म फेस्टिभल (एनजीएफएफ) २०२७ को तयारी तीव्र पारिएको छ।
नेपाल फिल्म एन्ड मिडिया एकेडेमीको आयोजनामा आगामी सन् २०२७ फेब्रुअरी १९ देखि २२ (फागुन ७ देखि १० गते) सम्म काठमाडौंमा महोत्सव आयोजना हुनेछ। आयोजकका अनुसार महोत्सवमा विभिन्न देशका करिब १०० जना चलचित्रकर्मी, सञ्चारकर्मी तथा चलचित्र उद्योगका विशिष्ट व्यक्तित्व सहभागी हुनेछन्।
महोत्सवको पहिलो संस्करणमै विश्वका विभिन्न देशबाट ५०० भन्दा बढी फिचर फिल्म, सर्ट फिल्म तथा डकुमेन्ट्री प्राप्त भएका छन्। प्राप्त चलचित्रमध्ये करिब १०० उत्कृष्ट चलचित्र छनोट गरी चार दिनसम्म प्रदर्शन गरिने आयोजकले जनाएको छ।
‘हिमालदेखि सागरसम्मका कथाहरूको उत्सव’ भन्ने मूल नारासहित आयोजना हुन लागेको महोत्सवका लागि निर्देशक सुवर्ण थापाको नेतृत्वमा चलचित्र छनोट समिति गठन गरिएको छ। छनोट भएका चलचित्रमध्ये उत्कृष्टलाई निर्देशक अशोक शर्माको नेतृत्वमा रहने नेपाली तथा विदेशी जुरीले विभिन्न विधामा नगद पुरस्कारसहित अवार्ड प्रदान गर्नेछन्।
महोत्सव निर्देशक गणेश पाण्डेले पहिलो संस्करणमै ५०० भन्दा बढी चलचित्र प्राप्त हुनुले अन्तर्राष्ट्रिय चलचित्र क्षेत्रमा महोत्सवप्रति आकर्षण र विश्वास बढेको बताए। उनले नेपालकै ठूलो अन्तर्राष्ट्रिय चलचित्र महोत्सव बनाउने लक्ष्यका साथ तयारी भइरहेको जानकारी दिए।
महोत्सवमा फिचर फिल्म, सर्ट फिल्म, डकुमेन्ट्री, माउन्टेन फिल्म, वातावरण, मानवअधिकार, मानवशास्त्र, महिला तथा आदिवासी जनजातिका कथा र संस्कृतिमा आधारित चलचित्र समावेश गरिनेछ। यसका साथै एनिमेसन, विद्यार्थी चलचित्र तथा कृत्रिम बौद्धिकता (एआई) मा आधारित चलचित्रलाई समेत विशेष प्राथमिकता दिइने आयोजकले जनाएको छ।
महोत्सवमा हलिउड, बलिउड तथा चिनियाँ चलचित्र क्षेत्रका चर्चित चलचित्रकर्मीलाई अतिथिका रूपमा सहभागी गराउने तयारी छ। चार दिनसम्म चलचित्र प्रदर्शनका अतिरिक्त विशेष सम्मान, अन्तरक्रिया, चलचित्र कार्यशाला, प्यानल छलफल तथा अन्तर्राष्ट्रिय नेटवर्किङ कार्यक्रमसमेत सञ्चालन गरिने महोत्सव आयोजक समितिका सदस्य फूलमान बलले जानकारी दिए।
एनजीएफएफले नेपाली चलचित्र, प्रतिभा र सिर्जनालाई अन्तर्राष्ट्रिय बजारमा पुर्याउनुका साथै विदेशी निर्माता तथा निर्देशकलाई नेपालमा चलचित्र निर्माणका सम्भावनाबारे जानकारी गराउने लक्ष्य राखेको छ। यसबाट चलचित्र पर्यटन, अन्तर्राष्ट्रिय सहकार्य तथा चलचित्र क्षेत्रमा विदेशी लगानीको सम्भावना विस्तार हुने अपेक्षा गरिएको छ।
नेपालको प्राकृतिक सौन्दर्य, हिमाली भूगोल, सांस्कृतिक विविधता र मौलिक कथालाई विश्व चलचित्र जगत्मा प्रवर्द्धन गर्दै काठमाडौंलाई चलचित्र सिर्जना, सहकार्य र सांस्कृतिक आदानप्रदानको अन्तर्राष्ट्रिय केन्द्रका रूपमा विकास गर्ने महोत्सवको दीर्घकालीन लक्ष्य रहेको आयोजकले जनाएको छ।
महोत्सवलाई अन्तर्राष्ट्रियस्तरको प्रतिष्ठित चलचित्र उत्सवका रूपमा स्थापित गर्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चलचित्र संस्था, कूटनीतिक नियोग, शैक्षिक संस्था, पर्यटन क्षेत्र र निजी क्षेत्रसँग सहकार्यका लागि समेत छलफल भइरहेको छ।




Comment