१० दिनभित्र सेवा दस्तुरको विवरण बुझाउन इन्टरनेट सेवा प्रदायकलाई प्राधिकरणको निर्देशन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले इजाजतपत्र प्राप्त इन्टरनेट (इमेलसहित) सेवा प्रदायकहरूलाई १० दिनभित्र दूरसञ्चार सेवा दस्तुर (टीएससी) सम्बन्धी विवरण पेश गर्न निर्देशन दिएको छ ।

प्राधिकरणको अनुमतिपत्र व्यवस्थापन शाखाले बुधबार अत्यन्त जरुरी सूचना जारी गर्दै आर्थिक वर्ष २०८२/८३ र चालु आर्थिक वर्ष २०८३/८४ को असोज मसान्तसम्मको दस्तुर विवरण माग गरेको हो ।

प्राधिकरणका अनुसार आर्थिक ऐन, २०८३ को दफा ८ को उपदफा ५ मा दूरसञ्चार सेवा दस्तुरको प्रशासन नेपाल दूरसञ्चार प्राधिकरणले निर्धारण गरेबमोजिम हुने व्यवस्था रहेकाले सेवा प्रदायकसँग आवश्यक विवरण माग गरिएको हो ।

सेवा प्रदायकहरूले नेपाल सरकारको राजस्व खातामा नियमानुसार दाखिला गरेको दूरसञ्चार सेवा दस्तुरसँग सम्बन्धित विवरण आवश्यक कागजातसहित बुझाउनुपर्नेछ ।

प्राधिकरणले तोकेको ढाँचाअनुसार प्रत्येक महिनाको छुट्टाछुट्टै विवरण तयार गर्नुपर्नेछ । उक्त विवरणमा इन्टरनेट बिक्रीबाट भएको आम्दानी, मर्मत सम्भारबापतको आय, उपकरण बिक्रीबाट प्राप्त रकम, अन्य आय तथा कुल आम्दानी स्पष्ट रूपमा खुलाउनुपर्नेछ ।

त्यस्तै, दूरसञ्चार सेवा दस्तुर दाखिला भए वा नभएको विवरणसमेत पेश गर्नुपर्ने प्राधिकरणले जनाएको छ । यसअन्तर्गत दाखिला गरिएको टीएससी रकम, दाखिला मिति, तोकिएको समयभन्दा ढिलो दाखिला गरेको भए त्यसबापतको ब्याज रकम र ब्याजसहितको कुल दाखिला रकम उल्लेख गर्नुपर्नेछ ।

प्राधिकरणले तोकिएको समयभित्र आवश्यक विवरण तथा कागजात पेश गर्न सबै सम्बन्धित सेवा प्रदायकलाई निर्देशन दिएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुक र ट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।