लुम्बिनी लगातार दोस्रोपटक एनपीएलको फाइनलमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को लगातार दोस्रो संस्करणमा फाइनल प्रवेश गरेको छ । मंगलबार सम्पन्न पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले पराजित गर्दै लुम्बिनीले उपाधि रक्षा गर्ने अभियानलाई थप बलियो बनाएको हो ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुदूरपश्चिमले दिएको १०६ रनको सामान्य लक्ष्य लुम्बिनीले १६.४ ओभरमा ४ विकेट गुमाएर पूरा गर्‍यो ।

लुम्बिनीको जितमा निरोशन डिकवेलाले उत्कृष्ट प्रदर्शन गरे । उनले ३७ बलमा ७ चौका र २ छक्काको मद्दतमा अविजित ५९ रन बनाए । कप्तान रोहितकुमार पौडेलले २१ रन जोड्दा दिलिप नाथ १० रनमा अविजित रहे । सुदूरपश्चिमका थारिन्दु रत्नायकेले २ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १०५ रन बनाएको थियो । टोलीका कप्तान दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ५२ रन बनाए । उनले ५१ बलमा ३ चौका र १ छक्का प्रहार गरे । इशान पाण्डेले २७ रनको योगदान दिए ।

सुदूरपश्चिमका अन्य ब्याटरले भने उल्लेख्य प्रदर्शन गर्न सकेनन् । लुम्बिनीका रुबेन ट्रम्पलम्यान र शेर मल्लले समान २ विकेट लिए भने अभिषेक गौतम र किशोर महतोले १–१ विकेट हात पारे ।

यस हारसँगै सुदूरपश्चिमले पहिलो क्वालिफायरबाटै फाइनल पुग्ने अवसर गुमाएको छ । अब उसले बुधबार हुने चितवन राइनोज र काठमाडौं गोर्खाजबीचको एलिमिनेटर विजेतासँग दोस्रो क्वालिफायर खेल्नेछ । दोस्रो क्वालिफायरको विजेताले उपाधिका लागि लुम्बिनी लायन्ससँग प्रतिस्पर्धा गर्नेछ ।

लुम्बिनीले यसअघि लिग चरणमा पनि सुदूरपश्चिमलाई ७ विकेटले पराजित गरेको थियो । गत संस्करणको फाइनलमा समेत सुदूरपश्चिमलाई ६ विकेटले हराउँदै लुम्बिनीले पहिलोपटक एनपीएलको उपाधि जितेको थियो ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुक र ट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।