काठमाडौं । उदाउँदो सूर्यदेवलाई अर्घ्य अर्पण गर्दै यस वर्षको छठ पर्व आज सम्पन्न भएको छ। कात्तिक शुक्ल चौथीदेखि चार दिनसम्म विभिन्न विधि र परम्पराअनुसार मनाइने छठ पर्वको अन्तिम दिन आज बिहान व्रतालुहरूले उदाउँदो सूर्यलाई अर्घ्य दिएका हुन्।
महोत्तरीसहित तराई–मधेशका विभिन्न जिल्लामा बिहान सूर्योदयसँगै व्रतालुहरूले नदी, तलाउ तथा पोखरीका छठ घाटमा पुगेर सूर्यदेवलाई अर्घ्य अर्पण गरेका थिए। अर्घ्य दिएसँगै व्रतालुहरूले छठ व्रत सम्पन्न गरी पूजा सामग्रीसहित घर फर्किएका छन्।
यसअघि आइतबार साँझ षष्ठी तिथिका दिन व्रतालुहरूले अस्ताउँदो सूर्यलाई पहिलो अर्घ्य दिएका थिए। छठ पर्वको यस विधिलाई मिथिलामा ‘सझियाघाट’ वा ‘सझुका अरख’ भन्ने गरिन्छ भने बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएर व्रत सम्पन्न गर्ने विधिलाई ‘भोरका अरख’ वा ‘पारन’ भनिन्छ।
चार दिनसम्म मनाइने यस पर्वको सुरुवात चौथीका दिन ‘नहाय–खाय’ विधिबाट हुन्छ। पञ्चमीका दिन निराहार व्रत बसेका व्रतालुहरूले राति ‘खरना’ विधि सम्पन्न गर्छन्। त्यसपछि षष्ठीका दिन अस्ताउँदो सूर्य र सप्तमीका दिन उदाउँदो सूर्यलाई अर्घ्य दिने परम्परा छ।
छठ पर्वमा सूर्यदेवलाई ठकुवा, भुसुवा, केरा, विभिन्न फलफूल तथा माटोका भाँडामा जमाइएको दहीलगायतका प्रसाद चढाउने गरिन्छ। व्रत सम्पन्न भएपछि व्रतालुहरूले दीनदुःखी तथा विपन्नलाई अन्न, वस्त्र दान गरी प्रसाद ग्रहण गर्ने परम्परा रहेको छ।
मिथिलाञ्चलमा छठको प्रसाद आफन्त, छोरीचेली, फुपू, मित तथा इष्टमित्रकहाँ ‘भार’ पठाएर बाँड्ने चलनसमेत छ। छठको प्रसाद खाने र खुवाउने परम्परा लामो समयसम्म चलिरहन्छ।
सूर्यदेव र छठी माताको उपासना गरिने यस पर्वमा व्रत बस्दा सुख, शान्ति, समृद्धि, सन्तानको कल्याण तथा मनोकामना पूरा हुने धार्मिक जनविश्वास रहेको छ।





Comment