सडक सुधार्न छाडेर एप बनाउन सरकारको खर्च, मुकुल ढकालद्वारा करको दुरुपयोग भएको आरोप

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वनेता मुकुल ढकालले सडकको अवस्था सुधार गर्नुको सट्टा खाल्डाखुल्डीको फोटो अपलोड गर्न लगाउने ‘सडक सुझाव’ एप निर्माण गर्नु जनताले तिरेको करको दुरुपयोग भएको बताएका छन्।

देशभरका सडक खाल्डाखुल्डी र जीर्ण अवस्थामा रहेको भन्दै उनले विकसित देशको सिको गरेर यस्तो एप निर्माण गर्नुको औचित्यमाथि प्रश्न उठाएका हुन्।

प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारमा समेत यस्तो प्रवृत्ति देखिएको आरोप लगाउँदै ढकालले मन्त्रालयहरू जनताले खासै प्रयोग नगर्ने एप निर्माणमा केन्द्रित भएको टिप्पणी गरेका छन्।

प्रधानमन्त्री शाहले अनावश्यक एप निर्माण नियन्त्रण गर्न ‘सफ्टवेयर विकास तथा सञ्चालन केन्द्र’ स्थापना गरे पनि डिजिटल नेपालको नाममा अनावश्यक एप बनाउने र राज्यको ढुकुटी खर्च गर्ने प्रवृत्ति नरोकिनु विडम्बनापूर्ण भएको उनको भनाइ छ।

‘जताततै खाल्डैखाल्डा भएको र पाइलैपिच्छे सडक जीर्ण रहेको देशमा, आकलझुकल मात्र खाल्डा पर्ने विकसित देशको सिको गर्दै ‘सडक सुझाव’ जस्तो एप बनाइनु सरासर जनताले तिरेको करको दुरुपयोग हो,’ ढकालले सामाजिक सञ्जालमा लेखेका छन्।

उनले सरकारले अनुत्पादक डिजिटल खर्च र प्रशासनिक बेथितिमाथि कडा नियन्त्रण गर्नुपर्ने माग गरेका छन्।

‘जनतालाई एपमा खाल्डाको फोटो खिचेर अपलोड गर्ने झन्झट होइन, प्रत्यक्ष रूपमा सुरक्षित र चिल्लो सडक चाहिएको छ,’ उनले लेखेका छन्।

सरकारले डिजिटल प्रविधिमा लगानी गर्दा जनताको वास्तविक आवश्यकता र त्यसबाट प्राप्त हुने प्रत्यक्ष लाभलाई प्राथमिकता दिनुपर्ने उनको भनाइ छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुक र ट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।