काठमाडौं। पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज दिउँसो देशका हिमाली भूभागमा साधारणतया बादल लाग्ने र पहाडी भूभागमा आंशिक बदली रहनेछ।
बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा आंशिक बदली हुने तथा बाँकी तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ।
दिउँसो देशका हिमाली भूभागका थोरै स्थानमा वर्षा तथा हिमपातको सम्भावना छ। त्यस्तै, लुम्बिनी र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा तथा अन्य पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।
आज राति पनि देशका हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ भने पहाडी भूभागमा आंशिक बदली रहने पूर्वानुमान छ। तराईका केही स्थानमा बिहानपख हुस्सु तथा कुहिरो लाग्ने सम्भावना रहेको छ।
रातिको समयमा कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ।




Comment