काठमाडौं । भर्लेली हस्पिटालिटीले बाराको सिमरामा ३ अर्ब ३४ करोड ५० लाख रुपैयाँ लगानीमा पाँचतारे होटल निर्माण गर्ने भएको छ। सन् २०१८ मा स्थापना भएको कम्पनीले ११८ कोठासहितको सुविधा सम्पन्न होटल निर्माण गर्न लागेको हो।
कम्पनीका अनुसार प्रस्तावित होटल २ लाख २० हजार १५८ वर्गफिट क्षेत्रफलमा फैलिनेछ। होटलमा रेस्टुरेन्ट तथा बार, बोर्डरुम, जिम्न्यासियम, क्यासिनो, बैंक्वेट तथा सम्मेलन हललगायतका सुविधा उपलब्ध हुनेछन्।
होटल निर्माणका लागि कम्पनीले कुल ३ अर्ब ३४ करोड ५० लाख रुपैयाँ खर्च गर्ने योजना बनाएको छ। जसमध्ये २ अर्ब ५० करोड ९० लाख रुपैयाँ ऋण र ८३ करोड ६० लाख रुपैयाँ संस्थापक तथा लगानीकर्ताको इक्विटीबाट जुटाइनेछ। कम्पनीले ऋण र इक्विटीको अनुपात ७५:२५ कायम गरेको छ।
कम्पनीका अनुसार होटल निर्माणको काम हाल प्रारम्भिक चरणमा रहेको छ। आयोजनाका लागि जग्गा अधिग्रहण तथा वातावरणीय प्रभावसम्बन्धी प्रतिवेदन तयार गर्ने कार्य सम्पन्न भइसकेको छ।
होटल निर्माणमा हालसम्म १३ प्रतिशत वित्तीय प्रगति भएको कम्पनीले जनाएको छ। कुल ऋण व्यवस्थापनका लागि प्रक्रिया अघि बढाइएको छ भने बैंकबाट ३० करोड रुपैयाँ ऋण स्वीकृत भइसकेको छ।
त्यस्तै, प्रस्तावित ८३ करोड ६० लाख रुपैयाँ इक्विटी लगानीमध्ये १९ प्रतिशत रकमको व्यवस्थापन भइसकेको कम्पनीले जनाएको छ।
कम्पनीले आयोजनाका लागि २ अर्ब ५५ करोड रुपैयाँ बराबरको दीर्घकालीन कर्जाको रेटिङ गराएको छ। होटल निर्माणका लागि आवश्यक वित्तीय स्रोत जुटाउने प्रक्रिया पनि अघि बढाइएको छ।
भर्लेली हस्पिटालिटीका अध्यक्ष तथा लगानीकर्ता अंकुश श्रेष्ठ हुन्। उनी नेपोभीट सेरामिक प्रालिका निर्देशकसमेत हुन्।
सिमरामा प्रस्तावित यो होटल सञ्चालनमा आएपछि स्थानीयस्तरमा रोजगारी सिर्जना हुनुका साथै बाराको पर्यटन, आतिथ्य सेवा तथा व्यावसायिक गतिविधिमा योगदान पुग्ने अपेक्षा गर्न सकिन्छ।




Comment