काठमाडौं । पछिल्लो १२ घण्टामा बगमती र गण्डकी प्रदेशको थोरै स्थान तथा लुम्बिनी र कर्णाली प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले आज (शुक्रबार) बिहान ६:१५ बजे जनाएको छ।
मौसम महाशाखाका अनुसार आज दिउँसो र राति पनि देशका विभिन्न स्थानमा चट्याङ, हुरी र असिनासहित वर्षाको सम्भावना छ।
महाशाखाका अनुसार आज दिउँसो देशका हिमाली र पहाडी भूभागका केही स्थानमा मेघगर्जन/चट्याङ, हावाहुरी र असिनासहित मध्यम वर्षा हुने सम्भावना छ। साथै यी स्थानमा हिमपातको पनि सम्भावना छ।
यसैगरी मधेसलगायत कोसी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशको तराई भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ। कोसी, बागमती र सुदूरपश्चिम प्रदेशका पहाडी भूभाग तथा कोसी प्रदेशको तराई भूभागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ।
यस्तै राति पनि कोसी प्रदेशका हिमाली र पहाडी भूभागका केही स्थान, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका थोरै स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षा/हिमपातको सम्भावना छ।
यसैगरी कोसी प्रदेशको तराई भूभागका केही स्थानमा, मधेस प्रदेशका थोरै स्थानमा तथा बागमती र गण्डकी प्रदेशका तराई भूभागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ। कोसी प्रदेशको पहाडी र तराई भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।




Comment