काठमाडौं । गृहमन्त्री सुधन गुरुङ आगामी साता औपचारिक भ्रमणका लागि भारत जाने भएका छन् ।
गृहमन्त्रीको पद सम्हालेपछिको आफ्नो पहिलो विदेश भ्रमणका रूपमा उनी २६ असोजमा नयाँदिल्ली प्रस्थान गर्ने तालिका रहेको गृह मन्त्रालय स्रोतले जनाएको छ
भ्रमणका क्रममा उनी २७ असोजमा आयोजना हुने बंगालको खाडी बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोग पहल (बिमस्टेक) का सदस्य राष्ट्रका गृहमन्त्रीहरूको पहिलो बैठकमा सहभागी हुनेछन् ।
उक्त बैठकमा नेपालसहित बंगलादेश, भुटान, भारत, म्यानमार, श्रीलंका र थाइल्यान्ड गरी सातवटै सदस्य राष्ट्रका गृहमन्त्रीहरूको उपस्थिति रहनेछ। गृहमन्त्रीस्तरीय बैठक बस्नुअघि बिमस्टेक सदस्य राष्ट्रका गृह सचिवहरूको बैठक आयोजना गरिनेछ।
सन् १९९७ मा क्षेत्रीय संगठनका रूपमा स्थापना भएको बिमस्टेकको इतिहासमै गृहमन्त्रीहरूको यो पहिलो बैठक हुन लागेको हो । यस बैठकमा सदस्य मुलुकहरूबीचका साझा सुरक्षा चासोका विषयहरूमा गहन छलफल हुने अपेक्षा गरिएको छ । विभिन्न समयमा गृह सचिव र राष्ट्रिय सुरक्षा सल्लाहकारहरूको बैठकले सिफारिस गरेका एजेन्डामाथि नै गृहमन्त्रीस्तरीय बैठकमा विमर्श हुने जनाइएको छ ।
भारत बसाइका क्रममा गृहमन्त्री सुधन गुरुङले आफ्ना समकक्षीहरूसँग द्विपक्षीय भेटवार्ता गर्ने छन्। यसै सिलसिलामा उनले भारतीय गृहमन्त्री अमित शाहसँग पनि द्विपक्षीय भेटवार्ता गर्ने अपेक्षा गरिएको छ।




Comment