बुवाको मुख हेर्ने दिनमा नबिल बैंकले सार्वजनिक गरेको मनछुने भिडियोमा के छ ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । बुबाको मुख हेर्ने दिनको अवसरमा नबिल बैंकले सार्वजनिक गरेको एक भावनात्मक भिडियोले अटिजम भएका बालबालिका र उनीहरूका अभिभावकले भोग्ने यथार्थलाई उजागर गर्दै समाजमा सकारात्मक सन्देश प्रवाह गरेको छ।

भिडियोमा अटिजम भएका एक बालकका बुवाको दृष्टिकोणमार्फत अभिभावकको अनुभव, संघर्ष र सन्तानप्रतिको निस्वार्थ मायालाई प्रस्तुत गरिएको छ। आफ्ना सन्तानको भविष्यबारे ठूला सपना देखेका एक बुवाले अटिजमको पहिचानपछि भोग्नुपरेका चुनौती र भावनात्मक यात्रालाई भिडियोमा चित्रण गरिएको छ।

भिडियोअनुसार बालक अरू बालबालिकाभन्दा फरक व्यवहार देखाउँछ। ऊ पाहुना आउँदा लुक्ने, ठूलो आवाजबाट डराउने, भीडभाडमा असहज महसुस गर्ने र आफ्ना भावना शब्दमा व्यक्त गर्न नसक्ने स्वभावको हुन्छ। यस्ता व्यवहारका कारण समाजले बालक मात्र होइन, उसका अभिभावकलाई समेत विभिन्न टिप्पणी र मूल्यांकन गर्ने गरेको सन्देश भिडियोमा समेटिएको छ।

भिडियोमा बुवाले आफ्नो अनुभव सुनाउँदै अटिजम कमजोरी नभई संसारलाई फरक ढंगले बुझ्ने अवस्था भएको बताएका छन्। “मेरो छोरो अटिस्टिक हो, तर ऊ पनि एउटा सामान्य बच्चा नै हो। उसले संसारलाई फरक तरिकाले महसुस गर्छ,” भन्ने सन्देशमार्फत अटिजमप्रति समाजमा रहेको गलत धारणा परिवर्तन गर्न खोजिएको छ।

भिडियोको मुख्य सन्देश अभिभावकको दृष्टिकोणमा आएको परिवर्तनमा केन्द्रित छ। सुरुआतमा आफ्ना सन्तानलाई समाजले परिभाषित गरेको ‘सामान्य’ मापदण्डअनुसार हुर्किएको देख्न चाहने बुवा अन्ततः समाजलाई नै आफ्नो सन्तानका लागि अझ समावेशी र सहज बनाउनुपर्ने निष्कर्षमा पुग्छन्।

नबिल बैंकका अनुसार भिडियो सन्तानका सपना र संघर्षलाई आफ्नै सपना र संघर्ष बनाउने सबै बुवाहरूको सम्मानमा तयार पारिएको हो। साथै, अटिजम भएका बालबालिकालाई बुझ्न, स्वीकार्न र उनीहरूप्रति सकारात्मक दृष्टिकोण विकास गर्न सामाजिक चेतना फैलाउने उद्देश्य पनि भिडियोको रहेको बैंकले जनाएको छ।

भिडियोको अन्त्यमा अटिजम भएका बालबालिकाले बोल्ने, सिक्ने, प्रतिक्रिया जनाउने वा भावना व्यक्त गर्ने तरिका फरक हुन सक्ने भए पनि उनीहरूलाई समान सम्मान र अवसर आवश्यक रहेको सन्देश दिइएको छ। समाजले उनीहरूलाई परिवर्तन गर्न खोज्नुभन्दा उनीहरूलाई बुझ्ने र स्वीकार्ने वातावरण निर्माण गर्नुपर्ने आवश्यकता औंल्याइएको छ।

भिडियो सार्वजनिक गर्दै नबिल बैंकले सम्पूर्ण बुवाप्रति सम्मान व्यक्त गर्दै बुबाको मुख हेर्ने दिनको शुभकामना समेत दिएको छ। बैंकले सन्तानका लागि जीवनभर साथ, भरोसा र प्रेरणाको स्रोत बनेर उभिने सबै बुवाहरूप्रति कृतज्ञता व्यक्त गरेको छ।

https://www.facebook.com/share/v/1C5x7w3YE7/

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।