‘निजी क्षेत्रलाई हेर्ने राज्यको दृष्टिकोण सकारात्मक र सहकार्यमा आधारित हुनुपर्छ’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) का अध्यक्ष अञ्जन श्रेष्ठले देशको आर्थिक विकासका लागि निजी क्षेत्रलाई हेर्ने राज्यको दृष्टिकोण अझ सकारात्मक, सहकार्यमा आधारित र निजी क्षेत्रमैत्री हुनुपर्ने बताएका छन्।

पोखरा उद्योग वाणिज्य संघको ३६औँ महाधिवेशन तथा ७२औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै अध्यक्ष श्रेष्ठले नीतिगत स्थायित्व, लगानीमैत्री वातावरण तथा सरकार र निजी क्षेत्रबीचको सहकार्यलाई आर्थिक पुनरुत्थानको आधारका रूपमा प्रस्तुत गरे।

उनले निजी क्षेत्रमाथि अत्यधिक नियमन र नियन्त्रणको सोचले लगानी निरुत्साहित हुने उल्लेख गर्दै सरकार नियामक र सहजीकरण गर्ने भूमिकामा केन्द्रित हुनुपर्ने बताए। लामो समयदेखि बन्द रहेका उद्योग सञ्चालनका लागि सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडल अपनाउन सकिने सुझाव दिँदै उनले युवालाई रोजगारीका लागि विदेशिनुपर्ने अवस्था अन्त्य गर्न उपलब्ध जनसांख्यिकीय लाभलाई उत्पादन र रोजगारीमा रूपान्तरण गर्न आवश्यक रहेको बताए।

अध्यक्ष श्रेष्ठले हतारमा कानुन निर्माण गर्ने प्रवृत्तिले निजी क्षेत्रलाई समस्या पारिरहेको उल्लेख गर्दै कानुन तथा नीति निर्माणका क्रममा निजी क्षेत्रसँग पर्याप्त छलफल र समय दिनुपर्नेमा जोड दिए। महासंघले एकीकृत कर कानुन तथा कर संहिता निर्माणका लागि पहल गरिरहेको र उधारो कारोबारसम्बन्धी कानुनको मस्यौदा तयार गरी सरकारलाई बुझाउने तयारी गरिरहेको जानकारी पनि उनले दिए।

पछिल्ला वर्षहरूमा देशले बाढी, पहिरो तथा अन्य प्राकृतिक विपद्को सामना गरिरहेको उल्लेख गर्दै उनले दीर्घकालीन सोचका साथ पूर्वाधार निर्माण गर्नुपर्ने आवश्यकता औंल्याए। विपद्का बेला उद्धारको जिम्मेवारी सरकारको भए पनि निजी क्षेत्र सधैं सहयोगमा रहने उनको भनाइ थियो। प्रभावित उद्योग–व्यवसायीको पुनःस्थापना तथा पुनर्निर्माणका लागि महासंघले सरकारसँग समन्वय गर्नुका साथै अन्तर्राष्ट्रिय साझेदार र विभिन्न देशका करिब ७० वटा चेम्बरसँग सहयोगका लागि आग्रह गरेको जानकारी दिए।

जलवायु परिवर्तनका कारण नेपालले ठूलो क्षति व्यहोर्नुपरेको भन्दै अध्यक्ष श्रेष्ठले जलवायु उत्थानशील पूर्वाधार निर्माणमा विशेष जोड दिनुपर्ने बताए। हिमताल विस्फोटको जोखिम न्यूनीकरणका लागि चीनसँग सहकार्य, सुरक्षित बस्ती निर्माण तथा जलविद्युत् आयोजनामा वातावरणीय जोखिमको मूल्यांकनलाई प्राथमिकता दिनुपर्ने उनको धारणा थियो। साथै, जलवायु परिवर्तनबाट भएको क्षतिको क्षतिपूर्तिका विषयमा अन्तर्राष्ट्रिय समुदायसमक्ष नेपालले बलियो आवाज उठाउनुपर्ने उनले बताए।

नेपाल–चीनका दुई प्रमुख नाकामा अवरोध देखिएको अवस्थामा कोरला नाकालाई प्रभावकारी रूपमा सञ्चालन गर्नुपर्ने विषयमा महासंघले पहल गरिरहेको जानकारी दिँदै उनले चिनियाँ राजदूतसँग यस विषयमा छलफल भइसकेको बताए। यद्यपि भौगोलिक अवस्थिति र प्राविधिक सम्भाव्यताको अध्ययनपछि मात्र अघि बढ्नुपर्ने उनको भनाइ थियो।

महासंघले सेवा सुदृढीकरण, आर्थिक विकास तथा पुनःउत्थान, र प्रतिस्पर्धात्मक क्षमता वृद्धिलाई प्राथमिकतामा राख्दै ‘६ स्तम्भ र ६० पहल’ मार्फत निजी क्षेत्रको क्षमता विस्तार र आर्थिक रूपान्तरणका कार्यक्रम सञ्चालन गरिरहेको जानकारी पनि अध्यक्ष श्रेष्ठले दिए। नेपाली उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी बनाउँदै निर्यात वृद्धि गर्न तथा युवालाई स्वदेशमै रोजगारी र उद्यमशीलताको अवसर सिर्जना गर्न सरकार र निजी क्षेत्र मिलेर काम गर्नुपर्ने उनले बताए।

उनले पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालनका लागि सरकार र निजी क्षेत्रले संयुक्त पहल गर्नुपर्ने आवश्यकता औंल्याउँदै यस विषयमा पर्यटनमन्त्री तथा सम्बन्धित निकायसँग छलफलको तयारी भइरहेको जानकारी दिए। साथै, भारतीय पर्यटकलाई लक्षित गरी पर्यटन पूर्वाधार तथा सेवा विस्तार गर्नुपर्नेमा पनि उनले जोड दिए।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।