नुवाकोट । गत भदौ १० गते रसुवाको भोटेकोसीमा आएको विनाशकारी बाढी र पहिरोले ठूलो मानवीय तथा भौतिक क्षति पुर्यायो। बाढीपहिरोका कारण घरबारविहीन भएका र उठ्नै नसक्ने गरी प्रभावित बनेका परिवारहरू यतिबेला खुल्ला आकाशमुनि सहयोगको पर्खाइमा छन्।
यसै कठिन घडीमा ललितपुरको गोदावरी नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष राज घिमिरेको टोली नुवाकोट पुगेर पीडितको घाउमा मलम लगाउने प्रयास गरेको छ। घिमिरेको नेतृत्वमा गएको टोलीले बिहीबार नुवाकोटको विदुर नगरपालिका वडा नम्बर ९, जफतीस्थित प्लास्टर क्षेत्रका प्रभावित परिवारहरूलाई प्रत्यक्ष भेटेर राहत सामग्री वितरण गरेको हो।
बिहीबार आयोजित राहत वितरण कार्यक्रममा टोलीले करिब ५ लाख रुपैयाँ बराबरको खाद्यान्न, लत्ताकपडा तथा अन्य अत्यावश्यक राहत सामग्रीहरू हस्तान्तरण गर्यो।
प्राकृतिक विपत्तिका अगाडि मानिस निसहाय बने पनि मानवता अझै जीवितै छ भन्ने सन्देश यस सहयोगले दिएको छ। राहत पाएपछि स्थानीय बासिन्दाहरूले खुसी व्यक्त गर्दै संकटको बेला टाढाबाट आएर सहयोग गरेकोमा वडाध्यक्ष घिमिरे र उनको टोलीप्रति गहिरो आभार प्रकट गरे ।
”विपत्तिको कुनै भूगोल वा सिमाना हुँदैन, दुःख परेको बेला एक-अर्कालाई सहयोग गर्नु नै असली मानवता हो,” राहत वितरणका क्रममा वडाध्यक्ष घिमिरेले भने।
बाढीपहिरोले सर्वस्व गुमाएका पीडितहरूका लागि यो सानो सहयोगले ठूलो राहत र जीवन जिउने नयाँ भरोसा दिलाएको छ।






Comment