काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठक सुरू भएको छ ।
बुधबार रसुवाको भोटेकोशीमा भीषण बाढी आएपछिको क्षति, खोजी तथा उद्धार, राहत र पुनःस्थापनाका विषयमा छलफल गर्न संसदको सबैभन्दा ठूलो दल रास्पाका सभापति लामिछानेले सर्वदलीय बैठक बोलाएका हुन् ।
बिहीबार बिहान साढे ९ बजे सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा बैठक सुरु भएको हो ।
बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति गगन थापा, एमाले महासचिव शंकर पोखरेल, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनसहितका संसदमा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेता र मन्त्रीहरूको उपस्थिति रहेको छ ।
बैठकमा भोटेकोशी बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिको समीक्षा गर्दै बेपत्ताको खोजी तथा उद्धार, प्रभावितलाई राहत उपलब्ध गराउने तथा बाढी प्रभावित क्षेत्रको पुनःस्थापनाका विषयमा छलफल हुने बताइएको छ ।
बाढीबाट प्रभावित क्षेत्रमा तत्कालीन उद्धार तथा राहतसँगै दीर्घकालीन पुनःस्थापनाका लागि राजनीतिक दलहरूबीच आवश्यक समन्वय र सहकार्य गर्ने उद्देश्यले बैठक आयोजना गरिएको रास्वपाले जनाएको छ ।





Comment