काठमाडौं । नेपाल एसोसिएसन अफ ट्राभल एण्ड टुर एजेन्ट्स (नाट्टा) को आगामी निर्वाचनका लागि युबिका भण्डारीले आफ्नो नेतृत्वमा प्यानल घोषणा गर्दै १० बुँदे चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गरेकी छन्। ‘पर्यटन उठे, नेपाल उठ्छ’ भन्ने मूल नारासहित भण्डारी समूहले पर्यटन क्षेत्रको समग्र विकास तथा व्यवसायीहरूको हितलाई केन्द्रमा राखेर चुनावी एजेन्डा अघि सारेको हो।
आगामी साउन २९ गते हुने नाट्टाको ५९औँ वार्षिक साधारणसभासँगै सम्पन्न हुने २५औँ कार्यसमितिको निर्वाचनलाई लक्षित गर्दै भण्डारीले आफ्नो टिम सार्वजनिक गरेकी हुन्। उनले पर्यटन उद्योगलाई राष्ट्रिय अर्थतन्त्रको प्रमुख आधारका रूपमा स्थापित गर्दै नीतिगत सुधार, अन्तर्राष्ट्रिय प्रवर्द्धन तथा व्यवसायीमैत्री वातावरण निर्माणमा जोड दिने बताएकी छन्।
भण्डारीको प्यानलमा वरिष्ठ उपाध्यक्ष पदका लागि बरुण मेहता, उपाध्यक्षमा ढकनाथ काफ्ले, महासचिवमा कृष्णप्रसाद ढकाल, सचिवमा श्रद्धा जोशी, कोषाध्यक्षमा रमाकुमारी प्याकुरेल तथा सह-कोषाध्यक्षमा विदुर खतिवडा रहेका छन्।
यस्तै कार्यसमिति सदस्यहरूमा प्रदीपप्रसाद उदय, विभास पौडेल, श्रीराम थापा, स्मारिका थापा, संकेत दाहाल, डा. उमेश गुप्ता, होमबहादुर परियार र राजेन्द्रप्रसाद त्रिपाठी रहेका छन्।
भण्डारी समूहले सार्वजनिक गरेको घोषणापत्रमा पर्यटनलाई राष्ट्रिय प्राथमिकताको उद्योगका रूपमा स्थापित गर्न अभियान सञ्चालन गर्ने, हवाई भाडामा लाग्ने मूल्य अभिवृद्धि कर (भ्याट) हटाउन पहल गर्ने, पर्यटन विधेयक पारित गराउन भूमिका खेल्ने तथा गौतम बुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको प्रभावकारी सञ्चालनका लागि पहल गर्ने प्रतिबद्धता जनाइएको छ।
त्यसैगरी, पर्यटन सवारी साधनका लागि व्यवस्थित पर्यटक बसपार्क स्थापना, अन्तर्राष्ट्रिय बजारमा नेपालको पर्यटन प्रवर्द्धनका लागि रोड शो तथा व्यापारिक कार्यक्रम विस्तार, सदस्यहरूको समस्या समाधानका लागि कानुनी तथा वित्तीय सहायता कक्ष स्थापना, आयटा तथा टिकटिङसम्बन्धी समस्या समाधान, डिजिटल प्लेटफर्ममार्फत सदस्यहरूको आवाज सुन्ने व्यवस्था तथा कूटनीतिक संयन्त्रमार्फत नेपालको पर्यटन प्रवर्द्धन गर्ने योजना घोषणापत्रमा समावेश गरिएको छ।
भण्डारी समूहले लक्जरी पर्यटक सवारी साधन आयातमा लाग्ने भन्सार शुल्क किस्ताबन्दीमा तिर्न पाउने व्यवस्था गर्न सरकारसँग पहल गर्ने तथा आउटबाउन्ड पर्यटन क्षेत्रमा देखिएका नीतिगत र भुक्तानीसम्बन्धी समस्या समाधानका लागि विशेष पहल गर्ने प्रतिबद्धता पनि व्यक्त गरेको छ।
भण्डारीले पर्यटन क्षेत्रका समसामयिक चुनौतीहरूको समाधान गर्दै व्यवसायीहरूको व्यावसायिक सुरक्षा सुनिश्चित गर्नुका साथै नेपालको पर्यटनलाई अन्तर्राष्ट्रिय बजारमा थप प्रतिस्पर्धी र आकर्षक गन्तव्यका रूपमा स्थापित गर्ने आफ्नो लक्ष्य रहेको बताएकी छन्।





Comment