काठमाडौं । चिनियाँ अटोमोबाइल निर्माता बेइजिङ अटोमोटिभ ग्रुप कम्पनी (बीएआईसी) को हाइब्रिड एसयूभी ‘बीजे–३०’ नेपालमा सार्वजनिक भएको छ ।
नेपालका लागि बीएआईसीको आधिकारिक बिक्रेता लक्ष्मी ई–मोबिलिटीले नाइमा मोबिलिटी एक्स्पो–२०२६ मा बीजे–३० सार्वजनिक गरेको हो ।
अफरोड डिजाइन र हाइब्रिड प्रविधिको संयोजन गरिएको बीजे–३० मा १.५ लिटर टर्बो पेट्रोल इन्जिनसँग डुअल इलेक्ट्रिक मोटर जडान गरिएको कम्पनीले जनाएको छ । उक्त पावरट्रेनले अधिकतम ४०९ हर्सपावर तथा ६८५ न्युटन मिटर टर्क उत्पादन गर्छ ।
बीजे–३० मा बीएआईसीको ‘म्याजिक कोर डीएचईभी’ हाइब्रिड प्रणाली प्रयोग गरिएको छ । शहरी सडकदेखि अफरोड यात्रासम्मका लागि लक्षित यो एसयूभीमा २१५ मिलिमिटर ग्राउन्ड क्लियरेन्स, विभिन्न ड्राइभिङ मोड तथा अफरोड क्षमताका साथै मजबुत बडी स्ट्रक्चर उपलब्ध रहेको कम्पनीले जनाएको छ ।
आधुनिक इन्टेरियर र कनेक्टिभिटी
बीजे–३० को इन्टेरियरमा १०.२५ इन्चको डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर र १४.६ इन्चको इन्फोटेनमेन्ट डिस्प्ले उपलब्ध छ । प्रिमियम केबिन, आधुनिक कनेक्टिभिटी तथा यात्रालाई सहज बनाउने विभिन्न प्रविधि र सुविधा समावेश गरिएको कम्पनीले जनाएको छ ।
हाइब्रिड पावरट्रेनसँगै अफरोड डिजाइन र उच्च ग्राउन्ड क्लियरेन्सका कारण बीजे–३० लाई दैनिक सहरी प्रयोगसँगै लामो दूरी तथा साहसिक यात्राका लागि लक्षित गरिएको छ ।
बीएआईसी चीनका प्रमुख अटोमोबाइल समूहहरूमध्ये एक हो । कम्पनीले एसयूभी, अफरोड सवारीसाधन तथा विद्युतीय सवारीसाधन उत्पादन गर्दै आएको छ ।
नाइमा मोबिलिटी एक्स्पो–२०२६ मा सार्वजनिक भएसँगै बीजे–३० ले नेपालमा बढ्दै गएको हाइब्रिड एसयूभीको बजारमा प्रतिस्पर्धा थप बढाउने अपेक्षा गरिएको छ ।





Comment