काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले गतिशीलता (मोबिलिटी) र कनेक्टिभिटी आर्थिक विकासका प्रमुख आधार भएको बताएका छन् । अटोमोबाइल क्षेत्रलाई केवल विलासिताको साधनका रूपमा हेर्ने सरकारी दृष्टिकोण परिवर्तन गर्नुपर्ने उनको भनाइ छ ।
नाइमा एक्स्पो २०२६ को उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष श्रेष्ठले अटोमोबाइल क्षेत्रलाई समग्र आर्थिक प्रणाली, पूर्वाधार विकास, ऊर्जा र प्रविधिसँग जोडेर हेर्नुपर्ने बताए ।
उनका अनुसार सुरक्षित, दिगो र प्रविधिमैत्री यातायात प्रणालीले कनेक्टिभिटी विस्तार गर्नुका साथै ऊर्जा तथा प्रविधिको विकासलाई समेत गति दिन्छ । यसले अन्ततः आर्थिक वृद्धिलाई बढावा दिने र नेपालमा लगानीको सम्भावना विस्तार गर्ने उनले बताए ।
श्रेष्ठले नेपालमा अटोमोबाइल क्षेत्रलाई लामो समयदेखि विलासिताको वस्तुका रूपमा मात्र परिभाषित गरेर उच्च कर तथा भन्सार दर लगाउने गरिएको भन्दै यसमा पुनरावलोकन आवश्यक रहेको बताए ।
‘विगतदेखि नै अटोमोबाइल क्षेत्रलाई हेर्ने दृष्टिकोण बदलिएको छैन । सरकारले यसलाई जहिले पनि विलासिताको वस्तुको रूपमा मात्र परिभाषित गरेर उच्च भन्सार दर लगाउँदै आएको छ,’ उनले भने, ‘नेपालमा लगाइने भन्सार दर संसारकै उच्चमध्येमा पर्छ, जुन यो क्षेत्रको विकासका लागि बाधक छ ।’
पूर्वाधार विकासमा राज्य पछि परेको गुनासो
काठमाडौं उपत्यकामा बढ्दो सवारी चाप र सडक पूर्वाधारको अवस्थाप्रति समेत अध्यक्ष श्रेष्ठले चिन्ता व्यक्त गरे ।
उनका अनुसार पछिल्लो २० वर्षमा सवारीसाधनको संख्या उल्लेख्य रूपमा बढे पनि त्यसअनुसार सडक विस्तार र आधुनिक यातायात पूर्वाधार निर्माण हुन सकेको छैन । सवारीसाधनको संख्या बढ्दै जाने तर पूर्वाधार विकास सोही गतिमा नहुने अवस्थाले सहरी यातायात व्यवस्थापनमा थप चुनौती सिर्जना गरेको उनले बताए ।
ट्राफिक व्यवस्थापनमा जनशक्ति अभाव
अध्यक्ष श्रेष्ठले सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापनमा समेत राज्यले पर्याप्त ध्यान दिन नसकेको बताए ।
सवारीसाधनको संख्या र ट्राफिक प्रहरीको उपलब्ध जनशक्तिबीच ठूलो असन्तुलन रहेको उनको भनाइ छ । उनका अनुसार ८–१० वर्षअघि काठमाडौंमा करिब ५–६ सयको हाराहारीमा रहेको ट्राफिक प्रहरीको संख्या अहिले पनि त्यही आसपास रहँदा सवारीसाधनको संख्या भने कैयौँ गुणाले बढेको छ ।
सवारीसाधनको बढ्दो चापअनुसार ट्राफिक व्यवस्थापनका लागि आवश्यक जनशक्ति, प्रविधि र पूर्वाधार विस्तार गर्नुपर्ने उनले बताए ।
यातायात क्षेत्रलाई व्यवस्थित र दिगो बनाउन सरकारले नीतिगत सुधारसँगै आधुनिक पूर्वाधारमा ठोस लगानी गर्नुपर्ने श्रेष्ठको भनाइ छ । मोबिलिटी, कनेक्टिभिटी र पूर्वाधारलाई आर्थिक विकासको अभिन्न अंगका रूपमा लिएर दीर्घकालीन नीति बनाउन सके मात्रै नेपालमा लगानी र आर्थिक गतिविधि विस्तार गर्न सकिने उनले बताए ।





Comment