‘नाइमा नेपाल मोबिलिटी एक्स्पो–२०२६’ को तयारी पुरा, ५५ भन्दा बढी स्टल रहने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल अटोमोबाइल आयातकर्ता तथा उत्पादक संघ (नाइमा) ले आयोजना गर्न लागेको ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ को सम्पूर्ण तयारी पूरा भएको जनाएको छ। नेपालकै सबैभन्दा ठूलो मोबिलिटी प्रदर्शनीका रूपमा प्रस्तुत गरिएको एक्स्पो साउन २६ देखि ३१ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा सञ्चालन हुनेछ।

नाइमाका अनुसार एक्स्पोको औपचारिक उद्घाटन साउन २६ गते बिहान ९ बजे नेपाल प्रहरी क्लबस्थित ब्लु प्याभिलियन सभाहलमा हुनेछ। उद्घाटन कार्यक्रममा नेपाल सरकारका विशिष्ट पदाधिकारी, कूटनीतिक नियोगका प्रतिनिधि, विभिन्न संघसंस्थाका पदाधिकारी, नाइमाका सदस्य संस्था तथा अटोमोबाइल क्षेत्रसँग सम्बन्धित सरोकारवालाको विशेष उपस्थिति रहनेछ।

प्रदर्शनीमा ५५ भन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सवारीसाधन तथा मोबिलिटीसम्बन्धी ब्रान्डहरूको सहभागिता रहनेछ। एक्स्पो अवधिभर स्वदेशी तथा विदेशी विज्ञहरूको सहभागितामा सिकाइ सत्र, नीतिगत संवाद तथा उद्योगसम्बन्धी अन्तरक्रियात्मक कार्यक्रम सञ्चालन गरिने आयोजकले जनाएको छ।

नाइमाकी अध्यक्ष रितु सिंह वैद्यले एक्स्पोले नेपालको मोबिलिटी क्षेत्रको वर्तमान अवस्था प्रस्तुत गर्नुका साथै भविष्यको दिशा निर्धारण गर्ने महत्वपूर्ण मञ्चका रूपमा काम गर्ने बताइन्। उनले प्रविधि, नवप्रवर्तन र दिगो यातायातका क्षेत्रमा भएका नवीनतम विकास नेपाली उपभोक्तासमक्ष प्रस्तुत गरिने उल्लेख गरिन्। उद्योग क्षेत्रको उत्साहजनक सहभागिताले एक्स्पोप्रतिको विश्वास अझ बलियो बनेको उनको भनाइ छ।

अटो प्रदर्शनी योजना समितिका अध्यक्ष गौरव सारडाले नाइमा बोर्ड तथा विभिन्न समितिहरूको नेतृत्व र मार्गदर्शनमा सचिवालयले सदस्य कम्पनी, प्रदर्शक, साझेदार संस्था, सरकारी निकाय तथा अन्य सरोकारवालासँग निरन्तर समन्वय गर्दै तयारीलाई अन्तिम रूप दिएको बताए। उनले प्रदर्शनीसँगै सिकाइ, तालिम तथा जनचेतनामूलक कार्यक्रमलाई विशेष प्राथमिकता दिइएको जानकारी दिए।

नाइमाका कार्यकारी निर्देशक राजकुमार दुलालले एक्स्पोलाई प्रदर्शनी, सिकाइ तथा जनचेतनाको केन्द्रका रूपमा विकास गर्ने लक्ष्य रहेको बताए। उनले प्रदर्शनी अवधिभर सञ्चालन हुने विभिन्न सिकाइ सत्र, नीतिगत संवाद तथा उद्योगसम्बन्धी अन्तरक्रियामा सहभागी हुन सबैलाई आग्रह गरे।

आयोजकका अनुसार उद्घाटनकै दिन दिउँसो १ बजेदेखि साँझ ७ बजेसम्म प्रदर्शनी सर्वसाधारणका लागि खुला रहनेछ। त्यसपछि बाँकी दिनहरूमा बिहान ११ बजेदेखि साँझ ७ बजेसम्म प्रदर्शनी अवलोकन गर्न सकिनेछ।

प्रदर्शनीको सह–प्रायोजकमा ग्लोबल आइएमई बैंक लिमिटेड रहेको छ भने मुख्य सहयोगीका रूपमा रेडबुल रहेको छ। बैंकिङ साझेदारमा एनएमबी बैंक लिमिटेड र सिद्धार्थ बैंक लिमिटेड रहेका छन्। बीमा साझेदारका रूपमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड र एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेड रहेका छन्।

त्यसैगरी, प्रविधि साझेदारमा बोस (बोस्च), शैक्षिक साझेदारमा ग्लोबल कलेज र एम्बार्क कलेज, चार्जिङ साझेदारमा अग्नि इनर्जी प्रालि र अजायल इन्जिनियरिङ सोलुसन्स प्रालि, यातायात साझेदारमा पठाओ नेपाल, आतिथ्य साझेदारमा द सोल्टी काठमाडौं तथा स्वास्थ्य साझेदारमा ग्रान्डी इन्टरनेसनल अस्पताल रहेका छन्।

नाइमाका अनुसार विभिन्न क्षेत्रका साझेदार संस्थाहरूको सहकार्यमा आयोजना हुन लागेको यस एक्स्पोले सुरक्षित, दिगो र प्रविधिमैत्री मोबिलिटीको प्रवर्द्धन गर्दै नेपालको सवारीसाधन तथा यातायात क्षेत्रको विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।