कलाकारितामा हास्य विधा सबैभन्दा चुनौतीपूर्ण: राजेश हमाल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ललितपुर । अभिनेता राजेश हमालले कलाकारिताका विभिन्न विधामध्ये हास्य विधा (कमेडी) सबैभन्दा चुनौतीपूर्ण रहेको बताएका छन्। आइतबार ललितपुरमा आयोजित नेपालको पहिलो ‘कमेडी एक्ट’ आधारित रियालिटी शो ‘सुपर कमेडी लिग’ को औपचारिक घोषणा कार्यक्रममा बोल्दै उनले मानिसलाई हँसाउनु अत्यन्त कठिन कार्य भएको उल्लेख गरे।

हास्य विधामा सक्रिय कलाकारहरूप्रति उच्च सम्मान व्यक्त गर्दै हमालले कमेडीलाई जटिल र सिर्जनात्मक कलाको रूपमा व्याख्या गरे। कार्यक्रममा उपस्थित हास्य कलाकार रविन्द्र झाको प्रसंग उल्लेख गर्दै उनले हास्य कलाकारहरूको प्रस्तुति शैली र शिल्पको प्रशंसा गरे।

“भावनामा आएर कसैलाई रुवाउन वा प्रेमका कुरा प्रस्तुत गर्न सहज हुन सक्छ, तर प्रस्तुतीमार्फत कसैलाई हँसाउनु निकै चुनौतीपूर्ण हुन्छ। यो व्यक्तिको ‘सेन्स अफ ह्युमर’सँग प्रत्यक्ष जोडिएको विषय हो,” हमालले भने।

उनले आफू पनि हास्य विधासँग सम्बन्धित यस रियालिटी शोको हिस्सा बन्न पाएकोमा खुशी व्यक्त गर्दै ‘सुपर कमेडी लिग’ ले नेपाली मनोरञ्जन क्षेत्रमा नयाँ आयाम थप्ने विश्वास व्यक्त गरे।

कार्यक्रममा अभिनेता रविन्द्र झाले ‘सुपर कमेडी लिग’ आफ्नो लागि सिकाइको महत्वपूर्ण केन्द्र भएको बताए। उनले कार्यक्रममा पाएको भूमिकाभन्दा पनि यहाँबाट प्राप्त हुने अनुभव र ज्ञानलाई बढी महत्व दिने धारणा राखे।

महानायक राजेश हमालको उपस्थितिलाई शोको प्रमुख आकर्षणको रूपमा चित्रण गर्दै झाले नयाँ र पुराना कलाकारहरूको संगमबाट धेरै कुरा सिक्न सकिने अपेक्षा व्यक्त गरे।

“यो शो मेरा लागि एउटा स्कुल हो, जहाँ म शिक्षकको भूमिकामा छु भने राजेश दाइ प्रधानाध्यापक हुनुहुन्छ। उहाँसँग सहकार्य गर्न पाउनु र उहाँबाट सिक्ने अवसर मिल्नु मेरा लागि ठूलो खुशीको कुरा हो,” उनले भने।

अभिनेत्री सुरक्षा पन्तले पनि कार्यक्रममा टिम क्याप्टेनको रूपमा आफ्नो सहभागिता रहने जानकारी दिइन्। उनले शोको अवधारणाले आफूलाई निकै आकर्षित गरेको बताउँदै पारिवारिक वातावरणमा हेर्न मिल्ने हास्य–व्यङ्ग्यात्मक कार्यक्रमले नेपाली समाजमा छुट्टै पहिचान बनाउने विश्वास व्यक्त गरिन्।

पन्तले ‘सुपर कमेडी लिग’ ओझेलमा परेका प्रतिभाहरूका लागि उत्कृष्ट मञ्च बन्न सक्ने बताइन्। क्याप्टेनको जिम्मेवारीलाई व्यक्तिगत चुनौतीका रूपमा लिएको उल्लेख गर्दै उनले नेतृत्व क्षमता विकास गर्ने अवसरका रूपमा यसलाई लिएको धारणा राखिन्।

“हाम्रो समाजमा धेरै प्रतिभाशाली व्यक्तिहरू छन्, जसले उचित प्लेटफर्मको अभावमा आफ्नो कला लुकाएर बस्नुपरेको छ। त्यस्ता प्रतिभाहरूलाई ठूलो मञ्च प्रदान गर्नु नै यो लिगको सबैभन्दा ठूलो सफलता हुनेछ,” पन्तले भनिन्।

नेपालमा पहिलोपटक सुरु हुन लागेको ‘कमेडी एक्ट’ आधारित रियालिटी शो ‘सुपर कमेडी लिग’ ले नेपाली हास्य क्षेत्रमा नयाँ सम्भावना र अवसर सिर्जना गर्ने अपेक्षा गरिएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।