हुलास फिनसर्भको नाफा ८४.४५ प्रतिशतले बढ्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । हुलास फिनसर्भ हायर पर्चेज लिमिटेड (एचएफएल) ले आर्थिक वर्ष २०८२/८३ मा उल्लेखनीय वित्तीय सुधार गरेको जनाएको छ। कम्पनीका अनुसार उक्त आर्थिक वर्षमा कम्पनीले ३९ करोड ८७ लाख २० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ।

यो नाफा अघिल्लो आर्थिक वर्षको २१ करोड ६१ लाख ७० हजार रुपैयाँको तुलनामा ८४.४५ प्रतिशतले बढी हो। कम्पनीले वित्तीय उपलब्धिले नेपालको इन्स्टा फाइनान्स क्षेत्रमा आफ्नो स्थान थप मजबुत भएको जनाएको छ।

कम्पनीको कर्जा पोर्टफोलियो पनि उल्लेखनीय रूपमा विस्तार भएको छ। आर्थिक वर्ष २०८२/८३ को अन्त्यसम्म कुल कर्जा पोर्टफोलियो ५२.२५ प्रतिशतले बढेर १२ अर्ब २२ करोड रुपैयाँ पुगेको छ। कर्जा विस्तारमा सवारी साधन वित्तीयकरणको महत्वपूर्ण योगदान रहेको कम्पनीले जनाएको छ।

कर्जा विस्तारसँगै कम्पनीले सम्पत्तिको गुणस्तरमा समेत सुधार गरेको छ। निष्क्रिय कर्जा (एनपीएल) अनुपात अघिल्लो आर्थिक वर्षको ३.४० प्रतिशतबाट घटेर १.८७ प्रतिशतमा झरेको छ। कम्पनीले यसलाई प्रभावकारी जोखिम व्यवस्थापन तथा कर्जा असुली प्रणालीको परिणामका रूपमा व्याख्या गरेको छ।

कम्पनीको कुल सम्पत्ति ८ अर्ब ४३ करोड रुपैयाँबाट बढेर १२ अर्ब ६४ करोड रुपैयाँ पुगेको छ। त्यस्तै, कुल स्वपुँजी (इक्विटी) १ अर्ब ४९ करोड रुपैयाँबाट बढेर १ अर्ब ८९ करोड रुपैयाँ पुगेको छ।

यस अवधिमा कम्पनीको शुद्ध ब्याज आम्दानी पनि उल्लेखनीय रूपमा बढेको छ। शुद्ध ब्याज आम्दानी अघिल्लो वर्षको २२ करोड १० लाख रुपैयाँबाट बढेर ४८ करोड ४६ लाख ५० हजार रुपैयाँ पुगेको छ। सञ्चालन नाफा भने ३३ करोड ५२ लाख ८० हजार रुपैयाँबाट बढेर ६१ करोड ४६ लाख ८० हजार रुपैयाँ पुगेको कम्पनीले जनाएको छ।

प्रमुख वित्तीय सूचकमा पनि सुधार देखिएको छ। वार्षिकीकृत स्वपुँजी प्रतिफल १४.५२ प्रतिशतबाट बढेर २१.१२ प्रतिशत पुगेको छ। वार्षिकीकृत आधारभूत प्रतिसेयर आम्दानी ६.०४ रुपैयाँबाट बढेर ४८.०४ रुपैयाँ पुगेको छ।

त्यस्तै, कम्पनीको कोषको लागत ६.४० प्रतिशतबाट घटेर ५.७७ प्रतिशतमा झरेको छ भने ब्याजदर अन्तर १.९८ प्रतिशतबाट बढेर ३.३९ प्रतिशत पुगेको छ। कर्जा नोक्सानी व्यवस्थापनका लागि गरिएको प्रावधानको कभरेज ९२.३४ प्रतिशत पुगेको कम्पनीले जनाएको छ।

कम्पनीका एक प्रतिनिधिका अनुसार निजी क्षेत्रमा कर्जा विस्तार सुस्त हुनुका साथै नेपालको वित्तीय क्षेत्रमा सम्पत्तिको गुणस्तरसँग सम्बन्धित चुनौती कायम रहे पनि व्यवसाय विस्तार, सञ्चालन दक्षता, जोखिम व्यवस्थापन र प्रभावकारी कर्जा असुली रणनीतिका कारण कम्पनीले वित्तीय प्रदर्शनमा सुधार गर्न सफल भएको हो।

कम्पनीले आगामी दिनमा दिगो रूपमा कर्जा पोर्टफोलियो विस्तार गर्ने, सम्पत्तिको गुणस्तर थप सुदृढ बनाउने, कर्जा असुली प्रणालीलाई अझ प्रभावकारी बनाउने तथा लगानी पोर्टफोलियोलाई विविधीकरण गर्ने रणनीति अघि बढाउने जनाएको छ।

दीर्घकालीन रूपमा आफ्ना सबै सरोकारवालाको हित र मूल्य अभिवृद्धिलाई केन्द्रमा राख्दै व्यवसाय विस्तार गर्ने प्रतिबद्धता पनि कम्पनीले व्यक्त गरेको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।