काठमाडौ । नेपाल एशोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) को आगामी दुई वर्षे कार्यकालका लागि अध्यक्ष पदका प्रत्याशी जिस्वा तुलाधर श्रेष्ठले आफ्नो व्यवसायिक प्यानल घोषणा गरेकी छन्।
शनिबार आयोजित पत्रकार सम्मेलनमार्फत तुलाधर नेतृत्वको समूहले नाट्टाको २५औँ कार्यसमितिका लागि उम्मेदवारी घोषणा गर्दै १२ बुँदे निर्वाचन प्रतिबद्धता पनि सार्वजनिक गरेको हो।
नाट्टाको ५९औँ वार्षिक साधारणसभासँगै साउन २९ गते नयाँ नेतृत्व चयनका लागि निर्वाचन हुँदैछ। तुलाधर समूहले ‘सबल नेतृत्व, सुरक्षित व्यवसाय – समृद्ध पर्यटनका लागि नाट्टा’ भन्ने मूल नारासहित उम्मेदवारी घोषणा गरेको जनाएको छ।
स्वा टुर्स एन्ड ट्राभलकी प्रबन्ध निर्देशकसमेत रहेकी तुलाधरको प्यानलबाट वरिष्ठ उपाध्यक्षमा विष्णु पाण्डे, उपाध्यक्षमा प्रज्ञा पाठक शर्मा, महासचिवमा सुसिल पन्त, सचिवमा रमेश घिमिरे, कोषाध्यक्षमा कृष्णप्रसाद ढकाल तथा सहकोषाध्यक्षमा डा. बिमला दाहालले उम्मेदवारी घोषणा गरेका छन्।
त्यसैगरी कार्यसमिति सदस्य पदका लागि प्रदीप आचार्य, सुदर्शन गजुरेल, दिनेश घिमिरे, त्रिलोचन न्यौपाने, अनु राउत अधिकारी र रोजिना रञ्जितकार उम्मेदवार बनेका छन्।
उम्मेदवारी घोषणासँगै तुलाधर नेतृत्वको समूहले पर्यटन व्यवसायीको हकहित र पर्यटन क्षेत्रको समग्र विकासलाई केन्द्रमा राखेर १२ बुँदे प्रतिबद्धता सार्वजनिक गरेको छ। प्रतिबद्धतामा डिजिटल प्रविधि, कृत्रिम बौद्धिकता (एआई) तथा बीटुबी प्लेटफर्ममार्फत अन्तर्राष्ट्रिय पर्यटन प्रवर्द्धन गर्ने, इनबाउन्ड र आउटबाउन्ड पर्यटनबीच सन्तुलन कायम गर्ने तथा नेपाली पर्यटन व्यवसायलाई विश्वव्यापी बजारसँग जोड्ने योजना समेटिएको छ।
त्यस्तै, आयाटा तथा टिकटिङ प्रणालीमा सुधार, एयरलाइन्सको क्यापिङ नीतिमा पारदर्शिता, जीडीएसमा समान पहुँच तथा एडीएम नीतिलाई न्यायोचित बनाउने विषयलाई प्राथमिकतामा राखिएको छ।

प्यानलले युवा, महिला तथा नयाँ उद्यमीलाई प्रोत्साहन गर्न सिंगल विन्डो प्रणाली, हेल्प डेस्क स्थापना तथा स्टार्टअप प्रवर्द्धन कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ। नेपाल आउने पर्यटकको हवाई भाडा नियन्त्रण गर्न र हवाई टिकटमा लाग्दै आएको भ्याट हटाउन सम्बन्धित निकायसँग सशक्त पहल गर्ने योजना पनि सार्वजनिक गरिएको छ।
पर्यटकीय बसपार्क निर्माण, अन्तरशहरी बस सञ्जाल विस्तार, नाट्टाको कार्यसमिति पुनर्संरचना तथा प्रादेशिक सहभागिता वृद्धि गर्ने विषय पनि प्रतिबद्धतामा समावेश छन्। ‘स्मार्ट नाट्टा’ अवधारणाअनुसार संस्थाका सम्पूर्ण प्रक्रिया डिजिटल बनाउने तथा भविष्यमा अनलाइन मतदान प्रणाली परीक्षण गर्ने लक्ष्यसमेत राखिएको छ।
गैरकानुनी रूपमा सञ्चालन हुने विदेशी टुर अपरेटर र सामाजिक सञ्जालमार्फत हुने अवैधानिक पर्यटन प्रवर्द्धन नियन्त्रण गर्दै नेपाली पर्यटन व्यवसायीको हित संरक्षण गर्ने प्रतिबद्धता पनि प्यानलले जनाएको छ।
यसका साथै पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलको प्रभावकारी सञ्चालन, प्रादेशिक शाखालाई अधिकारसम्पन्न बनाउने, आउटबाउन्ड पर्यटनका चुनौती समाधान गर्ने, कैलाश तथा भुटान यात्रालाई सहजीकरण गर्ने तथा वैदेशिक मुद्रा व्यवस्थापन सहज बनाउने विषय पनि प्रतिबद्धतामा समेटिएका छन्।
प्यानलले नाट्टा एकेडेमीमार्फत टुर अपरेटर तथा गाइडहरूलाई डिजिटल मार्केटिङ, भाषा, कृत्रिम बौद्धिकता (एआई) र संकट व्यवस्थापनसम्बन्धी नियमित तालिम प्रदान गर्ने तथा आन्तरिक पर्यटनको पहुँच विस्तारका लागि सरकारसँग सहकार्य गर्दै पूर्वाधार विकासमा जोड दिने जनाएको छ।





Comment