तरलता प्रशोचन गर्न ६० अर्बको निक्षेप संकलन बोलकबोल गर्दै राष्ट्र बैंक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल राष्ट्र बैंकले बजारमा रहेको अधिक तरलता व्यवस्थापन ६० अर्ब रुपैयाँ तरलता प्रशोचन गर्ने भएको छ । निक्षेप संकलन उपकरण बोलाकबोल मार्फत राष्ट्र बैंकले तरलता प्रशोचन गर्ने भएको हो ।

राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले ३१ दिनको अवधिका लागि निक्षेप संकलन गर्ने भएको हो । शुक्रबार साउन २२ गते दिउँसो ३ बजेसम्म अनलाइन बोलकबोल प्रणाली मार्फत बोलकबोलमा सहभागि हुन सक्ने राष्ट्र बैंकले जनाएको छ ।

निक्षेप संकलन उपकरणको निष्कासन शुक्रबार नै हुनेछ । यसको सावाँ तथा ब्याज भुक्तानी २०८३ भदौ २२ गते हुनेछ । बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउनेछन् । सहभागी हुन चाहने संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा १० करोडले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्मका लागि आवेदन दिन सक्नेछन् ।

निक्षेप संकलनको ब्याजदर बोलकबोलकै माध्यमबाट निर्धारण हुनेछ । बैंकका अनुसार सबैभन्दा कम ब्याजदर बोल गर्ने संस्थालाई प्राथमिकता दिइनेछ । यदि समान ब्याजदर उल्लेख भएका बोल रकमहरू कुल निष्कासित रकमभन्दा बढी भएमा ‘प्रो–राटा बेसिस’ मा बाँडफाँड गरिनेछ ।

निक्षेपकल उपकरणमा लगानी गरेको रकमलाई अनिवार्य नगद मौज्दातमा गणना गर्न पाइने छैन । यसलाई वैधानिक तरलता अनुपात र तरलता अनुपातमा गणना गर्न पाइनेछ ।

निक्षेप संकलन उपकरणलाई अन्य बैंक तथा वित्तीय संस्थामा धितोको रूपमा प्रयोग गर्न सकिनेछ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।