नाट्टा निर्वाचनमा त्रिपक्षीय प्रतिस्पर्धा, अध्यक्ष पदमा तुलाधर, भण्डारी र पाण्डे आमनेसामने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । ट्राभल व्यवसायीहरूको छाता संस्था नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) को २५औँ कार्यसमिति निर्वाचनमा अध्यक्ष पदका लागि त्रिपक्षीय प्रतिस्पर्धा हुने भएको छ। आगामी साउन २९ गते हुने ५९औँ वार्षिक साधारणसभासँगै नयाँ नेतृत्व चयनका लागि निर्वाचन हुन लागेको हो।

वर्तमान अध्यक्ष कुमारमणि थपलिया को दुईवर्षे कार्यकाल समाप्त हुन लागेसँगै नयाँ नेतृत्वका लागि तीन समूह मैदानमा उत्रिएका छन्। अध्यक्ष पदका लागि वरिष्ठ उपाध्यक्ष तथा स्वा टुर्स एन्ड ट्राभल्सकी प्रबन्ध निर्देशक जिस्वाँ तुलाधर श्रेष्ठ, महासचिव तथा शशीज होलिडेज इन्टरनेसनल ट्राभल एन्ड टुर्सकी युविका भण्डारी र एभरेष्ट मिराकल ट्राभल्स एन्ड टुर्सका प्रबन्ध निर्देशक भरतजंग पाण्डेबीच प्रतिस्पर्धा हुने भएको छ।

तीनै उम्मेदवारले आ–आफ्ना एजेन्डा सार्वजनिक गर्दै पर्यटन व्यवसायीहरूको समर्थन जुटाउने अभियानलाई तीव्र बनाएका छन्। लामो समयदेखि पर्यटन क्षेत्रमा सक्रिय रहेका दुई महिला र एक पुरुष उम्मेदवारबीचको प्रतिस्पर्धाले नाट्टा निर्वाचनलाई थप रोचक बनाएको छ।

अध्यक्ष पदकी उम्मेदवार जिस्वाँ तुलाधरले पर्यटन क्षेत्रमा आफ्नो २५ वर्षको अनुभव तथा नाट्टाभित्रको १५ वर्षे सक्रियतालाई प्रमुख आधार बनाएकी छन्। उनले परम्परागत पर्यटन अभ्यासलाई आधुनिक र नवप्रवर्तनमुखी बनाउने एजेन्डा अघि सारेकी छन्।

यता युविका भण्डारीले ‘पर्यटन उठे नेपाल उठ्छ’ भन्ने नारासहित संस्थागत रूपान्तरण, डिजिटल प्रणालीको विकास र पारदर्शी निर्णय प्रक्रियालाई आफ्नो प्रमुख प्राथमिकता बनाएकी छन्। नाट्टालाई प्रविधिमैत्री तथा सदस्यमैत्री संस्थाका रूपमा विकास गर्ने उनको प्रतिबद्धता छ।

अर्का उम्मेदवार भरतजंग पाण्डेले पनि पर्यटन व्यवसायीहरूको साझा हित, संस्थागत सुदृढीकरण र व्यवसायिक एकतालाई केन्द्रमा राख्दै आफ्नो समूहसहित चुनावी मैदानमा उत्रिएका छन्।

निर्वाचन नजिकिँदै जाँदा तीनै पक्षले सामाजिक सञ्जाल, प्रत्यक्ष भेटघाट तथा व्यवसायिक नेटवर्कमार्फत प्रचारप्रसारलाई तीव्र बनाएका छन्। पर्यटन व्यवसायीहरूको सबैभन्दा ठूलो र पुरानो संस्थाको नेतृत्व कसले सम्हाल्ने भन्ने विषयले यतिबेला पर्यटन क्षेत्रमा व्यापक चासो पैदा गरेको छ।

नयाँ कार्यसमितिका लागि तीनै समूहले पदाधिकारी तथा सदस्यहरूको प्यानलसमेत सार्वजनिक गरिसकेका छन्। निर्वाचनको परिणामले आगामी दुई वर्षका लागि नाट्टाको नीति, कार्यक्रम र पर्यटन व्यवसायीहरूको प्रतिनिधित्वको दिशा तय गर्ने अपेक्षा गरिएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।