सरकारद्वारा राष्ट्रसेवक कर्मचारीको नयाँ तलबमान स्वीकृत, मुख्य सचिवको तलब ९० हजार रुपैयाँ नाघ्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल सरकारले राष्ट्रसेवक कर्मचारीहरूको नयाँ तलबमान तथा सुविधा स्वीकृत गरेको छ। अर्थ मन्त्रालयको बजेट तथा कार्यक्रम महाशाखाले साउन २० गते परिपत्र जारी गर्दै मन्त्रिपरिषद्को निर्णयअनुसार नयाँ तलबमान साउन १ गतेदेखि लागू भएको जनाएको छ।

मन्त्रिपरिषद्को साउन ६ गते बसेको बैठकले निजामती कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, स्वास्थ्य सेवा, संसद् सेवा, सामुदायिक विद्यालयका शिक्षक तथा प्रदेश र स्थानीय तहमा कार्यरत कर्मचारीहरूका लागि नयाँ तलबमान र ग्रेड स्वीकृत गरेको हो।

नयाँ तलबमानअनुसार निजामती सेवाको सर्वोच्च पद मुख्य सचिव तथा नेपाली सेनाका प्रधानसेनापतिको मासिक तलब ९० हजार ५९४ रुपैयाँ कायम गरिएको छ। त्यस्तै, सचिव, रथी, नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) तथा सशस्त्र प्रहरी बलका महानिरीक्षकको मासिक तलब ८४ हजार ५७६ रुपैयाँ पुगेको छ।

तल्लो तहका कर्मचारीहरूमध्ये श्रेणीविहीन कार्यालय सहयोगी (प्रथम स्तर) को मासिक तलब २८ हजार ९८४ रुपैयाँ निर्धारण गरिएको छ।

सरकारले तलब वृद्धिसँगै कर्मचारीहरूलाई थप सुविधा पनि उपलब्ध गराउने निर्णय गरेको छ। अर्थ मन्त्रालयका अनुसार साउन १ गतेदेखि लागू हुने गरी सबै कर्मचारीलाई एक दिनको तलब बराबरको ग्रेड रकम तथा वृद्धि भएको तलबमानको १० प्रतिशत बराबर मासिक प्रोत्साहन भत्ता प्रदान गरिनेछ।

यो व्यवस्था निजामती सेवा, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, स्वास्थ्य सेवा, शिक्षा सेवा तथा प्रदेश र स्थानीय तहमा कार्यरत कर्मचारीहरूमा समान रूपमा लागू हुनेछ।

नयाँ तलबमानसँगै निवृत्तभरण (पेन्सन) पाउने कर्मचारीहरू पनि लाभान्वित हुने भएका छन्। सरकारले पेन्सन रकममा समेत १० प्रतिशत वृद्धि गर्ने निर्णय गरेको छ।

अर्थ मन्त्रालयले विभिन्न सेवा समूहका कर्मचारीहरूको विस्तृत तलबमान, ग्रेड तथा अन्तिम तलबसम्बन्धी विवरण अनुसूची १ देखि ८ सम्म सार्वजनिक गरेको जनाएको छ। ती विवरणमा प्राविधिक सेवा तथा विशेष व्यवस्था भएका पदहरूको तलब संरचना पनि समावेश गरिएको छ।

सरकारले कर्मचारीहरूको मनोबल वृद्धि, सेवा प्रवाहमा प्रभावकारिता तथा बढ्दो जीवनयापन खर्चलाई सम्बोधन गर्ने उद्देश्यले नयाँ तलबमान कार्यान्वयनमा ल्याएको जनाएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।