काठमाडौं । राष्ट्रिय स्तरको गरिमा विकास बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ मा १ अर्ब ६८ करोड ८६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। बैंकले सार्वजनिक गरेको चौथो त्रैमास (असार मसान्त) सम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार बैंकको नाफा अघिल्लो वर्षको तुलनामा ३५.३४ प्रतिशतले बढेको हो।
अघिल्लो आर्थिक वर्ष २०८१/८२ को सोही अवधिमा बैंकले १ अर्ब २४ करोड ७६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ६.१७ प्रतिशतले वृद्धि भई ३ अर्ब ८३ करोड ५१ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष सोही अवधिमा यस्तो आम्दानी ३ अर्ब ६१ करोड २० लाख रुपैयाँ रहेको थियो।
मुख्य ब्याज आम्दानीसँगै सेवा शुल्क तथा कमिसन आम्दानीमा सुधार आएपछि बैंकको कुल सञ्चालन आम्दानी पनि ७.३० प्रतिशतले बढेर ४ अर्ब ५६ करोड ७४ लाख रुपैयाँ पुगेको छ।
बैंकको सञ्चालन मुनाफा ३९.३४ प्रतिशतले वृद्धि भई २ अर्ब ५१ करोड ६३ लाख रुपैयाँ पुगेको छ। नाफामा आएको उल्लेखनीय सुधारले बैंकको लाभांश क्षमतामा समेत सकारात्मक प्रभाव परेको देखिएको छ।
नियामकीय कोष तथा प्राविधिक समायोजनपछि बैंकको कुल वितरणयोग्य मुनाफा १ अर्ब २१ करोड ७९ लाख रुपैयाँ कायम भएको छ। अघिल्लो वर्ष यस्तो मुनाफा ५९ करोड ९२ लाख रुपैयाँ मात्रै रहेको थियो। यस आधारमा बैंकको प्रतिशेयर वितरणयोग्य मुनाफा २०.२३ रुपैयाँ पुगेको छ।
खुद नाफा बढेसँगै बैंकको प्रतिशेयर आम्दानी (ईपीएस) २१.९६ रुपैयाँबाट बढेर २८.०४ रुपैयाँ पुगेको छ। बैंकको प्रतिशेयर नेटवर्थ १७७.२६ रुपैयाँ कायम भएको छ।
यद्यपि, समीक्षा अवधिमा बैंकको खराब कर्जा (एनपीएल) भने ४.६६ प्रतिशतबाट बढेर ४.७६ प्रतिशत पुगेको छ। बैंकको आधार दर ५.२६ प्रतिशत, स्प्रेड दर ४.०४ प्रतिशत तथा पुँजी कोष अनुपात १३.६३ प्रतिशत रहेको छ।
व्यवसाय विस्तारतर्फ बैंकले निक्षेप तथा कर्जा दुवैमा वृद्धि गरेको छ। ६ अर्ब २ करोड १३ लाख रुपैयाँ चुक्ता पुँजी रहेको बैंकले असार मसान्तसम्म ९२ अर्ब ४७ करोड २ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ भने ७८ अर्ब २४ करोड १२ लाख रुपैयाँ कर्जा प्रवाह गरेको जनाएको छ।

Comment