कृषि विकास बैंकको ब्याज आम्दानी ९ अर्ब नाघ्याे, एक वर्षमा साढे २ खर्ब कर्जा लगानी, कस्ता छन् अन्य सूचक ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । कृषि विकास बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमास (असार मसान्त) सम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरणअनुसार बैंकको खुद ब्याज आम्दानी तथा कुल सञ्चालन आम्दानीमा उल्लेख्य वृद्धि भए पनि बढ्दो इम्पेयरमेन्ट चार्ज र सञ्चालन खर्चका कारण खुद नाफा घटेको छ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ९.२४ प्रतिशतले बढेर ९ अर्ब १२ करोड १५ लाख रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यो रकम ८ अर्ब ३५ करोड २ लाख रुपैयाँ रहेको थियो।

यस्तै, बैंकको कुल सञ्चालन आम्दानी पनि ७.१९ प्रतिशतले वृद्धि भई ११ अर्ब २७ करोड २ लाख रुपैयाँ पुगेको छ। गत वर्ष सोही अवधिमा बैंकको कुल सञ्चालन आम्दानी १० अर्ब ५१ करोड ३० लाख रुपैयाँ थियो।

आम्दानीका सूचकहरूमा सुधार देखिए पनि इम्पेयरमेन्ट चार्ज उल्लेख्य रूपमा बढेको छ। अघिल्लो वर्ष ६३ करोड ७७ लाख रुपैयाँ रहेको इम्पेयरमेन्ट चार्ज समीक्षा अवधिमा बढेर १ अर्ब १७ करोड २६ लाख रुपैयाँ पुगेको छ।

यसैबीच, सञ्चालन खर्चमा वृद्धि हुँदा बैंकको खुद नाफा २९.३१ प्रतिशतले घटेको छ। असार मसान्तसम्म बैंकले २ अर्ब ६३ करोड ८६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो वर्षको सोही अवधिमा बैंकको खुद नाफा ३ अर्ब ७३ करोड २४ लाख रुपैयाँ रहेको थियो।

बैंकको सञ्चालन मुनाफा पनि २५.५० प्रतिशतले घटेर ५ अर्ब ३६ करोड ८१ लाख रुपैयाँमा सीमित भएको छ।

नाफामा आएको गिरावटले बैंकको लाभांश क्षमतामा समेत असर परेको छ। विभिन्न कोष तथा नियामकीय समायोजनपछि बैंकको कुल वितरणयोग्य मुनाफा १ अर्ब २६ करोड २१ लाख रुपैयाँ कायम भएको छ, जुन अघिल्लो वर्ष २ अर्ब ८१ करोड ६६ लाख रुपैयाँ थियो। यस आधारमा बैंकको वार्षिक प्रतिशेयर वितरणयोग्य मुनाफा ६.५४ रुपैयाँ रहेको छ।

खुद नाफा घटेसँगै बैंकको प्रतिशेयर आम्दानी (ईपीएस) पनि २४.५९ रुपैयाँबाट घटेर १६.१६ रुपैयाँमा झरेको छ। यस्तै, खराब कर्जा (एनपीएल) ३.४४ प्रतिशतबाट बढेर ४.०७ प्रतिशत पुगेको छ।

सकारात्मक पक्षमा बैंकको आधार दर (बेस रेट) ५.८७ प्रतिशतबाट घटेर ४.५६ प्रतिशतमा आएको छ। बैंकको स्प्रेड दर ३.६६ प्रतिशत तथा पुँजी कोष अनुपात १३.२९ प्रतिशत रहेको छ।

व्यवसाय विस्तारतर्फ बैंकले निक्षेप र कर्जा दुवै बढाउन सफल भएको छ। १९ अर्ब ३८ करोड २३ लाख रुपैयाँ चुक्ता पुँजी रहेको बैंकले असार मसान्तसम्म २ खर्ब ५७ अर्ब ३१ करोड ९८ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ भने २ खर्ब ४७ अर्ब १४ करोड ५२ लाख रुपैयाँ कर्जा प्रवाह गरेको जनाएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।