काठमाडौं । नेपालमा जुलाई महिनामा विदेशी पर्यटक आगमन २.३ प्रतिशतले वृद्धि भएको छ । नेपाल पर्यटन बोर्डका अनुसार गत वर्ष जुलाईमा ७० हजार १९३ जना पर्यटक आएकोमा यस वर्षको सोही अवधिमा यो संख्या बढेर ७१ हजार ७७५ पुगेको हो।
यद्यपि, यो संख्या अघिल्लो महिना जुनको तुलनामा २१.४३ प्रतिशतले कम हो । मनसुन सुरु भएपछि नेपालमा पर्यटक आगमन सामान्यतः घट्ने गरेको छ।
सन् २०१९ को जुलाईमा नेपालमा ७८ हजार ३२९ जना विदेशी पर्यटक आएका थिए । उक्त वर्षलाई नेपालको पर्यटन क्षेत्रको आधार वर्ष मानिन्छ ।
सन् २०२६ को पहिलो सात महिनामा नेपाल आउने विदेशी पर्यटकको संख्या ६ लाख ९२ हजार ८८७ पुगेको छ । यो गत वर्षको सोही अवधिको ६ लाख ४७ हजार ८८२ को तुलनामा ६.८४ प्रतिशतले बढी हो ।
जुलाईमा भारत नेपालका लागि सबैभन्दा ठूलो पर्यटक स्रोत बजार बनेको छ । भारतबाट २३ हजार ४९० पर्यटक नेपाल आएका छन् । त्यसपछि चीनबाट ११ हजार ९९, अमेरिकाबाट ७ हजार ७५४, बंगलादेशबाट ४ हजार १७९ र बेलायतबाट ३ हजार ७७३ पर्यटक आएका छन् ।
क्षेत्रगत रूपमा जुलाईमा दक्षिण एसियाली मुलुकबाट आएका पर्यटकको हिस्सा सबैभन्दा धेरै ४१.५ प्रतिशत रहेको छ । त्यसपछि अन्य एसियाली मुलुकबाट २४.३ प्रतिशत, युरोपबाट १२.९ प्रतिशत र अमेरिकी महादेशबाट १२.३ प्रतिशत पर्यटक आएका छन् ।
पर्यटन बोर्डका अनुसार सन् २०२६ मा मार्च महिनामा सबैभन्दा धेरै एक लाख २० हजार ५१६ पर्यटक आएका थिए । त्यसपछि अप्रिल, मे र जुनमा क्रमशः पर्यटक आगमन घट्दै गएको थियो ।
सन् २०२५ मा नेपालमा कुल ११ लाख ५८ हजार ४५९ विदेशी पर्यटक आएका थिए भने सन् २०१९ मा कोभिडअघिको समयमा ११ लाख ९७ हजार १९१ पर्यटक नेपाल आएका थिए ।

Comment