काठमाडौं। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज नेपाल राष्ट्र बैंकका सबै कार्यकारी निर्देशकहरूसँग अर्थतन्त्र र वित्तीय क्षेत्रका समसामयिक विषयमा छलफल गर्ने भएका छन्।
अर्थमन्त्रीको सचिवालयका अनुसार छलफल बिहान ९:१५ बजे अर्थ मन्त्रालयस्थित सुवर्ण हलमा सुरु हुनेछ। बैठकमा मुलुकको वर्तमान आर्थिक अवस्था, मौद्रिक नीतिको कार्यान्वयन, वित्तीय प्रणालीका चुनौती तथा समाधानका सम्भावित उपायबारे गहन विमर्श हुने जनाइएको छ।
सचिवालयले जारी गरेको जानकारीमा देशको वित्तीय अवस्थाको गहिरो बुझाइ भएका तथा मौद्रिक उपकरण कार्यान्वयनमा प्रत्यक्ष संलग्न राष्ट्र बैंकका अधिकारीहरूसँगको संवाद अर्थतन्त्रका समस्या पहिचान गर्ने र समाधानका उपाय खोज्ने उद्देश्यले आयोजना गरिएको उल्लेख छ।
सचिवालयका अनुसार नेपाल राष्ट्र बैंकका गभर्नर र डेपुटी गभर्नरसँग नियमित रूपमा समन्वय र छलफल हुँदै आए पनि कार्यकारी निर्देशकहरूको सामूहिक उपस्थितिमा हुने यस्तो प्रकारको विस्तृत छलफल सम्भवतः पहिलोपटक हुन लागेको हो।
हाल नेपाल राष्ट्र बैंकमा १८ जना कार्यकारी निर्देशक कार्यरत छन्। उनीहरू बैंक सुपरिवेक्षण, मौद्रिक नीति, विदेशी विनिमय, वित्तीय स्थायित्व, अनुसन्धान तथा नियमनलगायत विभिन्न महत्वपूर्ण विभागको नेतृत्व गरिरहेका छन्।
अर्थमन्त्री वाग्लेले पछिल्ला दिनमा अर्थतन्त्रसँग सम्बन्धित सरोकारवालासँग संवादलाई तीव्रता दिएका छन्। यसअघि साउन १२ गते उद्योगी–व्यवसायीहरूसँग छलफल गरेका उनले मंगलबार वाणिज्य बैंकहरूका प्रमुख कार्यकारी अधिकृत (सिइओ) हरूसँग पनि विस्तृत छलफल गरेका थिए।
उद्योगी र बैंकरहरूसँगको छलफलमा मौद्रिक नीतिसँग सम्बन्धित विभिन्न विषय उठान भएको थियो। तर ती दुवै छलफलमा नेपाल राष्ट्र बैंकको औपचारिक प्रतिनिधित्व भने नरहेको बताइएको छ।
आजको बैठकलाई सरकार र केन्द्रीय बैंकबीचको समन्वय थप प्रभावकारी बनाउने तथा आर्थिक गतिविधि विस्तार, लगानी प्रवर्द्धन र वित्तीय प्रणालीलाई थप चलायमान बनाउने दिशामा महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।

Comment