काठमाडौँ। एभरेस्ट बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्म सन्तोषजनक वित्तीय प्रदर्शन गर्दै ५ अर्ब ६ करोड ९९ लाख रुपैयाँभन्दा बढी खुद नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकको खुद नाफा ४ अर्ब ८३ करोड ९९ लाख रुपैयाँ रहेको थियो। यसअनुसार बैंकको नाफा ४.७५ प्रतिशतले वृद्धि भएको छ।
समीक्षा अवधिमा बैंकको मुख्य आम्दानी स्रोत खुद ब्याज आम्दानी सामान्य रूपमा बढेर ९ अर्ब १९ करोड ४ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष सोही अवधिमा यस्तो आम्दानी ९ अर्ब १० करोड २३ लाख रुपैयाँ रहेको थियो।
बैंकले सेवा शुल्क तथा कमिसनबाट २ अर्ब २० करोड ७८ लाख रुपैयाँ खुद आम्दानी गरेको छ। गैर-ब्याज आम्दानी तथा इम्पेयरमेन्ट चार्जमा आएको सुधारका कारण कुल सञ्चालन आम्दानी ११ अर्ब ९६ करोड ४६ लाख रुपैयाँ पुगेको छ। सञ्चालन मुनाफा पनि १.८८ प्रतिशतले वृद्धि हुँदै ७ अर्ब ३८ करोड ४४ लाख रुपैयाँ पुगेको बैंकले जनाएको छ।
निक्षेप संकलन र कर्जा विस्तारतर्फ पनि बैंकले सन्तुलित वृद्धि हासिल गरेको छ। असार मसान्तसम्म बैंकले ३ खर्ब १६ अर्ब ८ लाख रुपैयाँभन्दा बढी निक्षेप संकलन गरेको छ भने २ खर्ब ३५ अर्ब ५६ करोड ८३ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ। अघिल्लो वर्षको तुलनामा दुवै क्षेत्रमा उल्लेखनीय विस्तार देखिएको छ।
बैंकको वितरणयोग्य मुनाफा पनि आकर्षक अवस्थामा रहेको छ। विभिन्न नियामकीय व्यवस्था तथा कोष व्यवस्थापनपछि बैंकसँग ५ अर्ब २५ करोड ७८ लाख रुपैयाँभन्दा बढी वितरणयोग्य मुनाफा सञ्चित रहेको छ। त्यसमध्ये समीक्षा वर्षको नाफाबाट मात्रै २ अर्ब ९५ करोड ३६ लाख रुपैयाँ लाभांश वितरणका लागि उपलब्ध रहेको छ।
१३ अर्ब ७२ करोड १३ लाख रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोष १५ अर्ब ७२ करोड ७८ लाख रुपैयाँभन्दा बढी पुगेको छ। समीक्षा अवधिमा बैंकको प्रतिशेयर आम्दानी (ईपीएस) ३६ रुपैयाँ ९५ पैसा कायम भएको छ भने प्रतिशेयर नेटवर्थ २५६ रुपैयाँ ४७ पैसा रहेको छ।
कर्जा गुणस्तरतर्फ एभरेस्ट बैंक अझै पनि उद्योगकै उत्कृष्टमध्येमा रहेको देखिन्छ। अघिल्लो वर्ष ०.३८ प्रतिशत रहेको निष्क्रिय कर्जा (एनपीएल) सामान्य बढेर ०.४९ प्रतिशत पुगे पनि यो बैंकिङ क्षेत्रकै न्यूनतममध्ये एक हो।
यसैगरी, बैंकको आधार दर (बेस रेट) ४.२३ प्रतिशत र स्प्रेड दर ३.०५ प्रतिशतमा झरेको छ, जसले कर्जा लागतलाई प्रतिस्पर्धी बनाएको छ। बैंकको पुँजी कोष पर्याप्तता अनुपात (सीएआर) १२.२३ प्रतिशत कायम रहेको छ।
वित्तीय सूचकहरूमा देखिएको स्थिर सुधार, न्यून खराब कर्जा र बलियो वितरणयोग्य मुनाफाले एभरेस्ट बैंक आगामी दिनमा पनि लगानीकर्ता तथा सेयरधनीका लागि आकर्षक बैंकका रूपमा रहने संकेत गरेको छ।

Comment