काठमाडौं । नेपाल राष्ट्र बैंकले बजारमा रहेको अधिक तरलता व्यवस्थापन गर्ने उद्देश्यले २५ अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन उपकरण जारी गर्ने भएको छ। राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागका अनुसार ६१ दिन अवधिको उक्त उपकरणका लागि शुक्रबार बोलकबोल प्रक्रिया सञ्चालन गरिनेछ।
इच्छुक बैंक तथा वित्तीय संस्थाहरूले शुक्रबार दिउँसो ३ बजेसम्म राष्ट्र बैंकको अनलाइन बोलकबोल प्रणालीमार्फत आवेदन दिन सक्नेछन्। निक्षेप संकलन उपकरणको निष्कासन पनि सोही दिन गरिनेछ भने यसको सावाँ तथा ब्याज आगामी असोज १४ गते भुक्तानी गरिने जनाइएको छ।
बोलकबोल प्रक्रियामा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउनेछन्। सहभागी संस्थाहरूले न्यूनतम १० करोड रुपैयाँदेखि अधिकतम आह्वान गरिएको कुल रकमसम्म आवेदन दिन सक्नेछन्। आवेदन रकम ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी प्रस्ताव गर्नुपर्ने व्यवस्था गरिएको छ।
राष्ट्र बैंकका अनुसार निक्षेप संकलन उपकरणको ब्याजदर प्रतिस्पर्धात्मक बोलकबोलबाट निर्धारण हुनेछ। सबैभन्दा कम ब्याजदर प्रस्ताव गर्ने संस्थालाई प्राथमिकता दिँदै क्रमशः रकम बाँडफाँड गरिनेछ। समान ब्याजदर प्रस्ताव भएका अवस्थामा भने ‘प्रो–राटा बेसिस’ अनुसार रकम वितरण गरिनेछ।
यस उपकरणमार्फत संकलित रकमलाई बैंक तथा वित्तीय संस्थाहरूले अनिवार्य नगद मौज्दातमा गणना गर्न पाउने छैनन्। तर, वैधानिक तरलता अनुपात र अन्य तरलता अनुपातमा भने गणना गर्न सकिने व्यवस्था रहेको छ।
राष्ट्र बैंकले निक्षेप संकलन उपकरणलाई आवश्यकताअनुसार धितोका रूपमा प्रयोग गर्न सकिने जनाएको छ। यद्यपि, संकलित निक्षेपको भुक्तानी अवधि पूरा हुनुअघि ‘प्रि–म्याच्योर’ भुक्तानी नहुने स्पष्ट गरिएको छ।
बजारमा बढ्दो तरलता व्यवस्थापन तथा मौद्रिक नीति कार्यान्वयनलाई प्रभावकारी बनाउन राष्ट्र बैंकले नियमित रूपमा यस्ता उपकरणमार्फत तरलता प्रशोचन गर्दै आएको छ।

Comment