काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सुनसरीको देवानगञ्जबाट सुरु भएको तनाव अन्य क्षेत्रमा समेत फैलिएको भन्दै सरकारलाई तत्काल हिंसात्मक अवस्था रोक्न र संवादमार्फत समाधान खोज्न आग्रह गरेका छन्।
बिहीबार सार्वजनिक वक्तव्य जारी गर्दै ओलीले सुनसरीमा स्थानीय युवा ओमप्रकाश मेहता र सिरहामा गणेश यादवको गोली लागेर मृत्यु भएको घटनाप्रति दुःख व्यक्त गरेका छन्। उनले अन्य नागरिक पनि गम्भीर घाइते भएको उल्लेख गरेका छन्।
पछिल्लो घटनाक्रमप्रति गम्भीर चिन्ता व्यक्त गर्दै ओलीले राष्ट्रिय सुरक्षा र सामाजिक सुव्यवस्था संवेदनशील अवस्थामा पुग्दा पनि सरकारले अपेक्षित सक्रियता नदेखाएको आरोप लगाए। उनले परिस्थिति नियन्त्रणका नाममा भएको बल प्रयोग र सरकारको मौनतालाई ‘शंकास्पद एवं भर्त्सनायोग्य’ भनेका छन्।
ओलीले नागरिकको जीउधनको सुरक्षा गर्नु र संवादमार्फत समस्या समाधान गर्नु सरकारको पहिलो दायित्व भएको उल्लेख गर्दै हिंसात्मक गतिविधि तत्काल रोक्न तथा वार्ताबाट निकास खोज्न आग्रह गरे।
उनले समाजमा विभाजन सिर्जना गरेर अवाञ्छित उद्देश्य पूरा गर्ने प्रयास हुन सक्ने आशंका व्यक्त गर्दै राजनीतिक दल, नागरिक समाज, सञ्चारकर्मी तथा सर्वसाधारणलाई भ्रामक प्रचारप्रति सचेत रहन आह्वान गरेका छन्।
सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम राख्न सबै पक्षले जिम्मेवार भूमिका खेल्नुपर्ने बताउँदै ओलीले मुलुक विषम परिस्थितिबाट गुज्रिरहेको अवस्थामा प्रमुख राजनीतिक दलहरू आरोप–प्रत्यारोपभन्दा माथि उठेर शान्ति, सुरक्षा र स्थायित्वका लागि सहकार्य गर्नुपर्ने धारणा राखेका छन्।
द्वन्द्व र हिंसाले कुनै पनि समस्याको समाधान नदिने उल्लेख गर्दै उनले राजनीतिक दल, नागरिक समाज, बुद्धिजीवी तथा धार्मिक र सामाजिक समुदायका अगुवाहरूलाई शान्ति स्थापना, सामाजिक सद्भाव र राष्ट्रिय एकताका पक्षमा एकजुट हुन आह्वान गरेका छन्।

Comment